coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराट गोल्डकपः सेमिफाइनलको यात्रामा विराटनगर

पाहुना टोलीलाई पन्छाउँदै घरेलु टोली विराटनगर महानगरपालिका ११ ले विराट गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ ।  

प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा पाहुना टोली भारत पश्चिम बंगालको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई ३–० गोलमा विराटनगरले पराजित हो । घरेलु दर्शकको पूरा समर्थन रहेको विराटनगरले अधिकांश समय सिलिगुडीलाई दबाबमा राख्दै पाएको अवसरलाई राम्रोसँग सदुपयोग गर्न नसक्दा गोल संख्या बढाउन सकेन । विराटनगरको जितका लागि सुनील खड्काले २ र प्रकाश बुढाथोकीले १ गोल गर्दै सेमिफाइनलमा पुगेको हो ।    

खेलको ५ औं मिनेटमा विराटनगरका दीपक राईले डिबक्सभित्र मिलाइ दिएको पासमा प्रकाश बुढाथोकीले गरेको प्रहार पोलको माथिल्लो भागमा लाग्दै बाहिरियो । २५ औं मिनेटमा सुनील खड्काले गोल गरे । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनीलले डिबक्सभित्रबाट गरेको प्रहारमा गोलरक्षक निजम सिंहले प्रतिक्रियाविहीन रहे ।  

६८ औं मिनेटमा सिलिगुडीका सौरभ तामाङले पाएको गोलको राम्रो अवसर चुकाए । ७० औं मिनेटमा सिलिगुडीका सुरज राउतले पाएको अवसरमा विराटनगरका गोलरक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्सभित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रसपासमा प्रकाशले गोल गरे । प्रकाशले टोलीका लागि दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै सुनीलले खेलको ८८ औं मिनेटमा गोल थपे ।  

म्यान अफ द म्याच विराटनगरका सुनील खड्काले नगद १० हजार रुपैयाँ पाए ।  

विराटनगरका प्रशिक्षक संजीव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रदर्शन नगरे पनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा निस्कियो । सेमिफाइनल खेलमा रणनीति परिवर्तन गर्ने सोच रहेको बताएका बुढाथोकीले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना रहेको छ ।’ यता सिलिगुडीका प्रशिक्षक अनिमेश तामाङले पाएको थुप्रै अवसरहरू खेलाडीले खेर फाल्दा हार भएको बताए ।  

विराट गोल्डकप ट्रष्टले विराटनगरको सहिद रंगशालामा आयोजना गरेको रात्रीकालीन खेलअन्तर्गत आइतबार काठमाडौंको मछिन्द्र क्लब र भारतको पंजाब पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: २९ चैत्र २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App