पोखरामा आयोजित दुई दिवसीय यु–१९ क्रिकेट टेष्ट सिरिज अन्तर्गत कास्की रातोलाई कास्की हरियोले एक इनिङ अगावै ३२ रनले जित निकाल्यो । शुक्रबार कास्की हरियोले १२६ रनबाट खेल्न शुरु गरेको थियो । शनिबार ९ विकेटको क्षतिमा १७८ रन बनायो । ९ विकेट गुमाएपछि कास्की हरियोले आफनो पारीको घोषणा गर्यो । १०० रनले पछि परेको कास्की रातोले आफनो दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्न भने सकेन् ।
१०० रनले पछि परेको कास्की रातो ६८ रनमै समेटियो । दोस्रो इनिङमा ६८ रन बनाई आउट हुदाँ कास्की हरियोका कप्तान सुवास भण्डारीले ६ विकेट लिए । उनले आफनो इनिङमा ६० रन बनाए । पहिलो दिन उनी व्यक्तिगत ४४ रनमा नटआउट थिए । प्रमेद बास्तोलाले २० रन नटआउटमा रहे ।
दोस्रो इनिङमा कास्की रातोका विकास अधिकारीले सर्वाधिक २२ रनको योगदान दिए । अन्य व्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । हरियोले भने आफनो दोस्रो इनिङ शुरु नै गरेन् । भण्डारीलेृ ६ विकेट लिदाँ निश्चल भुषालले ३ विकेट लिएका थिए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिज शुरु भएको हो । कास्की, तनहँु, बाग्लुङ, स्याङजा र नवलपुरबाट खेलाडी छनोट गरी तीन टिम तयार गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । बैशाख १ गतेसम्म प्रतियोगिता चल्ने छ । प्रतियोगिताको व्यवस्थापन भने कास्की क्रिकेट क्लबले गरेको छ । विजेता टिमले च्याम्पियन ट्रफी प्राप्त गर्ने छ । आईतबार कास्की हरियो र निलो बीच प्रतिस्पर्धा हुने छ ।
प्रकाशित: २८ चैत्र २०७७ ०८:४९ शनिबार