१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

शुक्रबहादुरलाई धरान ओपन गल्फको उपाधि

धरान ओपन गल्फ प्रतियोगिताका च्याम्पियन शुक्रबहादुर राईलाई ट्रफी दिँदै उपप्रमुख मञ्जु भण्डारी सुवेदी। तस्बिर : रोहित राई

घरेलु गल्फ कोर्षमा युवा गल्फर शुक्रबहादुर राई धरान ओपन गल्फ प्रतियोगिताको पहिलो सँस्करणको विजेता बनेका छन्।

पार ७० को गल्फ कोर्षमा शुक्रबार मुख्य स्पर्धातर्फ १ अण्डर ६९ स्कोर गर्दै समग्रमा ४ अण्डर २ सय ६ कार्ड बनाउदै शुक्रले उपाधि जितेका हुन्। च्याम्पियन भएका शुक्रले ट्रफीसँगै नगद ९० हजार हात पारे। प्रो टर्न भएपछिको यो शुक्रको पहिलो उपाधि पनि हो। प्रो टर्न भएपछि उनले सहभागीता जनाएको छैटौं प्रतियोगितामा उपाधि जित्न सफल भएका हुन्। उनी गत बर्ष दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टमा स्वर्ण पदक जितेपछि प्रो टर्न भएका थिए। एक साताअघि उनी काठमाण्डौंमा सम्पन्न सेन्ट्रल ओपनमा दोस्रो भएका थिए।

तेसो दिन(शुक्रबार) शुक्रले १ अण्डर ६९ स्कोर गर्ने क्रममा दोस्रो, तेस्रो, १२ औं, १६ औं र १८ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका थिए भने नवौं, ११ औं, १४ औं र १७ औं होलमा बुगी खेपेका थिए। उनले पहिलो दिन लेभल पार ७० र दोस्रो दिन ३ अण्डर ६७ स्कोर गरेका थिए। प्रो टर्न भएको छैटौं प्रयासमा उपाधि जित्न पाउदा ज्यादै खुशी भएको शुक्रले बताए। उनले भने,‘पाँच वटा म्याचमा उपाधि जित्ने प्रयास गरे पनि सकेको थिइन, तर राम्रो पोजिसन थियो। यहाँ उपाधि जित्दा ज्यादै खुशी छुँ।’ उनले अन्तिम दिन बंकर चिप, ड्राइभर सट र पटिङ पनि राम्रो भएकोले उपाधि जितेको उनले बताए।

यसैगरि, प्रतियोगितामा समान ३ ओभर २ सय १३ स्कोर गरेका भुवन नगरकोटी, बलभद्र राई(मणी) र कृष्णमान राजबाहक संयुक्तरुपमादोस्रो भए। उनीहरुले जनही नगद ४३ हजार ६ सय ६६ रुपैया हात पारे। पहिलो र दोस्रो दिन शीर्षस्थानमा रहेका भुवनले शुक्रबार बिर्सनलायक ७ ओभर ७७ स्कोर खेले। शुक्रबार शीर्षस्थानमा रहेर खेल शुरु गरेका भुवनले पहिलो होलमा नै डबल बुगी खेपेका थिए भने आठौं, नवौं, १० औं, १२ औं, १३ औं, १४ औं, १६ औं र १७ औं होलमा पनि बुगी खेपेका थिए। यस्तै, दोस्रो, तेस्रो र छैठौं होलमा उनले बर्डी गरेका थिए।

यसैगरि,स्थानीय गल्फर नीरज तामाङ र रामे मगर समान कुल ४ ओभर २ सय १४ स्कोरका साथ संयुक्तरुपमा पाँचौं भए। दुवैले जनही २८ हजार ५ सय रुपैया थापे। कुल ५ ओभर २ सय १५ स्कोरका साथ दिपक आचार्य सातौं भए। उनले नगद २५ हजार थापे भने संयज लामा र रवि खड्का समान ६ ओभर २ सय १६ स्कोरका साथ संयुक्त आठौं स्थानमा रहे। दुवैले जनही २२ हजार पाए। कुल ७ ओभर २ सय १७ स्कोरका साथ दिनेश प्रजापति दशौं स्थानमा रहदै १९ हजार हात पारे।  

प्रतियोगितामा एमेच्योरतर्फ पनि ९ ओभर २ सय १९ स्कोरका साथ स्थानीय गल्फर युवराज भुजेल विजेता भए। शुक्रबार उनले ६ ओभर ७६ स्कोर खेलेका थिए भने पहिलो दिन २ ओभर ७२ र दोस्रो दिन १ ओभर ७१ स्कोर खेलेका थिए। एमेच्योरतर्फ स्थानीय खेलाडी रितेश तामाङ १४ ओभर २ सय २४ स्कोरका साथ उपविजेता भए। विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टीका लिम्बु, उपाध्यक्ष सन्तोष कार्की, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले ट्रफी तथा नगद विरतण गरेका थिए। प्रतियोगितामा शनिबार प्रो–एम स्पर्धा हुनेछ।

प्रकाशित: १३ चैत्र २०७७ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App