२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न ९० लाखको सम्झौता

पोखरा रंगशालास्थित बहुद्देश्यीय कभर्ड हल । तस्बिर नागरिक

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिलाई जिम्मा लगाइएको छ । पोखरामा गतवर्ष मंसिरको मध्यसाता आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अगावै पार्केटिङ गर्ने योजना भएपनि सम्भव भएको थिएन । साग सकिएको झण्डै डेढवर्षपछि कभर्डहलको भुँईमा जेठ मसान्तभित्र पार्केटिङ गर्ने गरी उपभोक्ता समितिलाई जिम्मा लगाइएको हो ।  

राष्ट्रिय खेलकुद परिषद र पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिसँग बुधबार सम्झौता भएको हो । परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल पोखरा आएको समयमा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र पहारी बीच सम्झौतापत्रमा हस्तान्तर भएको हो । सम्झौता अनुसार आगामी जेठ मसान्तभित्रमा काम टुंग्याएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ ।  

समितिलाई ९० लाख रुपैयाँमा पार्केटिङ गर्ने जिम्मा लगाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । ‘बुधबार सम्झौता भयो । ९० लाख रुपैयाँमा आगामी जेठभित्रमा सक्ने गरी सम्झौता गरिएको छ,’ उनको भनाई थियो ।  

बहुउद्देश्यीय कभर्ड हल दर्शक क्षमताको हिसाबले नेपालकै ठूलो हो । दर्शक क्षमता २१५६ रहेको छ । राष्ट्रिय खेलकुद परिषदले कभर्ड हलमा सिट जडान तथा साउण्ड सिष्टम समेत व्यवस्थापन गर्ने योजना छ । यद्यपी सिट जडान गर्न गतवर्ष आवश्यक टेण्डर प्रक्रिया गरेपनि कोरोनाकै कारण स्थगित भएको थियो । ‘जेठसम्ममा सक्ने गरी काम गर्नुपर्ने छ । सम्झौता अनुसार काम टुग्याउन समितिको बैठक बसेर अघि बढ्छौं,’ उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र पहारीले सुनाए ।  

सम्झौता अनुसार २५ एमएमको पार्केटिङ गरिने उनले जानकारी दिए । झण्डै १३ हजार स्क्वायर फिटमा पार्केटिङ हुने छ । कभर्ड हलको ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ । अध्यक्ष पहारीले पछिल्लो समय मूल्य बृद्धिले आकाश छोईसकेको उल्लेख गर्दै जिल्ला दररेट अनुसार काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि हलमा बिछ्याइएको म्याट भने निकालेर व्यवस्थापन गर्नुपर्ने छ । कभर्ड हलमा महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता आयोजना गरिएको थियो ।  

तत्कालिन राखेपका सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए । २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो । १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । 

प्रकाशित: १२ चैत्र २०७७ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App