१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

धरान ओपन गल्फ: नीरज र भुवनको संयुक्त अग्रता

स्थानीय गल्फर नीरज तामाङ र भुवन नगरकोटीले धरान ओपन गल्फको पहिलो दिन बुधबार संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता बनाएका छन्। पार–७० को धरान गल्फ कोर्समा बुधबार पहिलो दिन १८ होलको खेल सकिँदा नीरज र भुवनले तीन अन्डर ६७ स्कोरसहित संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता बनाएका हुन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीरजले फ्रन्ट नाइनमा चार अन्डर ३२ को कार्ड बनाउने क्रममा चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी गरेका थिए। ब्याक नाइनमा भने एक ओभर ३५ को कार्ड बनाएका नीरजले १२औं र १६औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि १३औं, १७औं र १८औं होलमा बोगी सामना गरेका थिए। फ्रन्ट नाइन पाँच अन्डर ३१ को उत्कृष्ट कार्ड बनाएका भुवनले दोस्रो, पाँचौं, छैटौं, सातौं र नवौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका थिए।

तर, ब्याक नाइनमा भने भुवनले दुई ओभर ३६ कार्ड बेहोरे। त्यस क्रममा १०औं होलमा बर्डीबाट सुरु गरेका भुवनले १४औं होलमा बोगी र १७औं होलमा डबल बोगी खेपे। पहिलो दिन लेभल पार ७० को स्कोर बनाउँदै बलभद्र राई (मणि), शुक्रबहादुर राई र जयराम श्रेष्ठ संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्। 

बलभद्रले फ्रन्ट नाइन लेभल पार ३६ खेले भने ब्याक नाइन पनि लेभल पार ३४ को कार्ड बनाए। १३औं सागकै स्वर्ण विजेता शुक्रबहादुरले फ्रन्ट नाइन एक ओभर ३७ कार्ड बनाउँदा ब्याक नाइनमा एक अन्डर ३३ को सुधार गरे। फ्रन्ट नाइनमा दुई ओभर ३८ मा खेलेका जयरामले ब्याक नाइनमा भने दुई अन्डर ३२ बनाए। 

पहिलो दिन एक ओभर ७१ स्कोर गर्दै सूर्यप्रसाद शर्मा छैटौं स्थानमा छन् भने दुई ओभर ७२ स्कोर गरेका सञ्जय लामा, दीपक आचार्य र कृष्णमान राजवाहक संयुक्त सातौं स्थानमा छन्। एमेच्योरतर्फ दुई ओभर ७२ स्कोर गरेका स्थानीय गल्फर युवराज भुजेलले अग्रता बनाउँदा पाँच ओभर ७५ स्कोरका साथ राजकुमार राईले पछ्याइरहेका छन्। 

धरान गल्फ क्लबको आयोजना सुरु भएको प्रतियोगितामा ३२ प्रोफेसनल र ११ जना एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। चारदिने प्रतियोगितामा तीन दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ। प्रतियोगिताका विजेताले ट्रफीसँगै नगद ९० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४१ हजार रूपैयाँ पाउनेछन्। कुल ३६ होलको खेल सकिएपछि कट पारबाट २१ प्रो गल्फर र ६ एमेच्योर गल्फरले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन्।

प्रकाशित: १२ चैत्र २०७७ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App