१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदान : कार्यदलको सुझावपछि बल्ल टेण्डर

आर्थिक वर्ष सकिन केवल चारमहिना मात्रै बाँकी छ । चारमहिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन । प्रदेश सरकारले क्रिकेट मैदानको लागि १ अर्ब ६५ करोड (अनुमानित) रुपैयाँ लागतको योजनाको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाईसकेको पनि वर्षदिन भयो । तर, क्रिकेट मैदानको निर्माण गर्न टेण्डर प्रक्रियामा गईसकेको छैन् । गण्डकी प्रदेश सरकारले पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान बनाउन जग्गा प्राप्ती गरिसकेको छ ।  

‘अझै टेण्डर प्रक्रियामा गएको छैन् । हामीले डिपिआर अनुसार प्रदेश सरकारले छुट्टाएको बजेटबाट गर्न सकिने कामको (योजना)मात्रै प्रतिवेदन मागेका छौं,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘त्यो भयो भने छुट्टाइएको बजेटबाट काम गरेर खेल्न योग्य मैदान बनाउने छौं ।’ उनका अनुसार टेण्डर प्रक्रियामा लैजानु अघि नै कार्यदलले दिएको सुझाव अनुसार काम अघि बढाईनेछ ।  

कार्यदलको संयोजकमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, प्राविधिक अनिल अधिकारी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल तथा भौतिक योजना मन्त्रालयका इन्जिनियरसहितको टोली बनाइएको छ । प्रशिक्षण विभाग प्रमुख तिमिल्सिनाले मैदान निर्माणको प्रक्रियालाई गठित कार्यदलले पाँचदिनभित्रमा सुझाव पेश गरिसक्ने जनाए ।  

टोलीले ५ दिनभित्रमा मैदान निर्माणको लागि प्राथमिकिरण अनुसार योजना र लागतसहितको सुझाव पेश गरेपछि टेण्डर प्रक्रियामा लैजाने सामाजिका विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवरले कार्यदलले पाँच दिनभित्र सुझाव पेश गरेपछि टेण्डर प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । ‘बनाउनुपर्ने पूर्वाधार भविष्यमा नभत्काउने गरी नबिगार्ने गरी योजना बनाउनुपर्छ,’ उनको भनाई थियो । उनका अनुसार योजनाहरु प्राथमिकताको आधारमा बनाई खेल्ने योग्य मैदान बनाउनुपर्छ ।  

सचिव कुँवरका अनुसार मैदानको पानी निकासको लागि अस्थायी नाली(ड्रेन) निर्माण गर्नुपर्नेमा जोड दिए । सेती नदीको कटान रोक्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसँगको सहकार्यमा चेकड्याम निर्माण गर्नुपर्नेमा समेत स्पष्ट पारे । नाली निर्माणपछि मैदानको पानी तर्किने छ । पानी तर्काइसकेपछि तारजाली लगाई मैदान संरक्षण गर्नुपर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्लेलले जोड दिए । ‘मैदान संरक्षण पहिलो प्राथमिकता हो । त्यसको लागि तारजाली लगाउनुपर्छ,’ उनको भनाई थियो । सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले दुई करोड रुपैयाँ भित्रमा काम हुने गरी टेण्डर प्रक्रियामा जाने तयारी भएको सुनाए ।  

तारजाली लगाएपछि मैदान सम्याउने र आवश्यक पीच निर्माण गर्नुपर्ने क्रिकेट संघले जनाएको छ । ‘तारजाली विना मैदान संरक्षण हुदैंन् । पीच निर्माण गरेर खेल्न योग्य बनाएपछि तारजाली नहुदाँ संरक्षण हुदैन् । झन समस्या सृजना हुन्छ,’ राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले भने–‘दुई करोड अन्तर्गत के–के काम गर्न सकिन्छ त्यसको योजना अघि सार्नुपर्छ ।’ नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले दुई करोड बजेटबाट तत्कालै खेल्न मिल्ने मैदान बनाउन आवश्यक पूर्वाधार तयार बनाईहाल्नुपर्नेमा जोड दिए । उनका अनुसार पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नवनिर्मित मैदानमा खेलाउन सकिने गरी निर्माण गरिनुपर्छ । 

प्रकाशित: २६ फाल्गुन २०७७ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App