coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल क्वार्टरफाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही मंगलबार गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

स्युचाटारमा जारी प्रतियोगितामा ६४ केजी तौलसमूहको दोस्रो चरणमा नक्साल बक्सिङ क्लबका एबल थापालाई ५–० स्कोरले हराउँदै ललितपुरका सनिलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्। सोही तौलसमूहमा आयुष्मान चटौतले अर्बिन पान्जिया, रसुवाका टोबिन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पुरुष ५२ केजीमा नारायण भुजेल, सुमन नेपाली, शक्ति लामा र बुद्ध लामा क्वार्टरफाइनलमा पुगेका छन्।

दोस्रो चरणमा नारायणले जीवनकुमार पुन, सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएका हुन्। ५६ केजीमा सिन्धुलीका अजय चौधरी, कोटेश्वरका प्रशान्त लामा, प्रकाश मगर र अभिशेक गोपालीले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।

दोस्रो चरणमा अजयले मिङमार ग्यान्जेन शेर्पा रिटायर्ट भएपछि आगामी चरणको यात्रा तय गर्दा प्रशान्तले कल्याण राई, प्रकाशले लोमश अधिकारी र अभिषेकले अजय तामाङलाई हराएका थिए। ६० केजीमा नक्सालका मौसम रानामगरले निश्चल गुरुङ, भक्तपुरका शेखर कुटुबोजुले अनिलरत्न वज्राचार्य, ललितपुरका आभासप्रताप शाहले मेघदूतका सुजितध्वज कार्की र चितवनका विवेक गुरुङले मार्सल गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

त्यसै गरी पुरुषकै ६९ केजी तौलसमूहमा ललितपुरका सन्तोष खत्री र बक्समान्डुका चन्द्र तामाङले अन्तिम आठमा स्थान बनाएका छन्। दोस्रो चरणमा सन्तोषले प्रशान्त तामाङ र चन्द्रले आशुतोष मुल्मीलाई सहजै पराजित गरेका थिए। पुरुषकै ७५ केजी तौलसमूहमा कोटेश्वरका रूपक नेपालीले थाङकोटका रोशन श्रेष्ठलाई पहिलो चरणबाटै टेक्निकल नकआउटका आधारमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा सोमबारदेखि सुरु प्रतियोगिता फागुन २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल एक सय ७३ बक्सरले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा महिलातर्फ ४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजी तौलसमूह र पुरुषमा ४९ केजी, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुँदै छ।

हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो स्थानका दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट महिला बक्सरले स्कुटर र पुरुष बक्सरले मोटरसाइकल पाउनेछन्। 

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App