३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक: आयोजक सकारात्मक

ओलम्पिकमा समर्थकलाई प्रवेश

कोभिड १९ को विश्वव्यापी महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछिका लागि धकेलियो। यसबीच भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता संञ्चालन त भए, तर सबै बन्द रंगशालामै। त्यसैले ओलम्पिक र पारा ओलम्पिकदौरान पनि दर्शकले प्रत्यक्ष मैदानमा उपस्थित भएर खेल हेर्न पाउँछन् वा पाउँदैनन् सबैको चासो बन्दै आएको छ।

यसैबीच टोकियो ओलम्पिकका नवनियुक्त प्रमुख सेइको हासिमोतोले प्रतियोगितादौरान दर्शकलाई प्रत्यक्ष रूपमा मैदान प्रवेशको अनुमतिबारे छलफल भइरहेको बताएकी छिन्। हासिमोतो गत साता मात्र टोकियो ओलम्पिक २०२० को प्रमुखमा नियुक्त भएकी थिइन्। तत्कालीन टोकियो ओलम्पिकका प्रमुख योसिहिरो मोरी महिलासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिका कारण पदबाट राजीनामा दिन बाध्य भएका थिए।टोकियो ओलम्पिक सुरु हुन अब मात्र ५ महिना बाँकी छ।

हासिमोतोले अन्य खेलमा जस्तै ओलम्पिकमा पनि दर्शक प्रत्यक्ष मैदान प्रवेश गरेर खेल हेर्न पाउने बारेमा सकारात्मक छलफल भइरहेको बताइन्।यद्यपि मैदान प्रवेश गर्ने दर्शकको संख्या पहिले नै तोकिने उनको भनाइ छ। यसबारे केही दिनभित्रै अन्तिम निर्णय आउने उनले बताइन्।

‘हामीले विभिन्न सम्भावनाबारे अध्ययन गरिरहेका छाैं। जब खाली मैदानमा प्रतियोगिता सुरु हुन्छ, खेलाडीले पक्कै पनि खल्लो महसुस गर्नेछन्,’ हासिमोतोले भनिन्, ‘किनभने अहिले भइरहेका विभिन्न खेलमा मैदानमा दर्शकको संख्या निर्धारण गरिएको छ तर प्रत्यक्ष रूपमा दर्शकलाई मैदानमा आएर खेल हेर्न भने बन्देज गरिएको छैन। हामीले ओलम्पिक र पाराओलम्पिकका दर्शकलाई प्रत्यक्ष रूपमा मैदान प्रवेशको अनुमति नदिए त्यो खेलाडी र समर्थक दुवैका लागि अन्याय हुन सक्छ।’

‘सबैको चासो, प्रतियोगितादौरान दर्शकका हकमा के गर्ने भन्ने बारेमा छिटोभन्दा छिटो निर्णय होस् भन्ने हाम्रो चाहना छ,’ उनले थपिन्, ‘प्रतियोगिताअघि नै यस विषयमा स्पष्ट धारणा आएमा दर्शकका लागि टिकट र होटल तथा बसोबासको विषय पनि टुङ्गिने थियो।

ओलम्पिक अधिकारीले पनि प्रतियोगितादौरान जापानिज समर्थक र विदेशी दर्शकको हकमा के हुने भन्ने बारे आगामी महिना आधिकारिक निर्णय आउने बताउँदै आएका छन्। मार्च ७ मा टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अन्त्यसँगै विदेशी खेलाडीले टोकियो प्रवेशको अनुमति पाउने बताइएको छ। मार्चमै जापानमा विश्वकप छनोटको खेलसमेत हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App