४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवलको फाइनल खेल आज

मझुवागढी रणजितमान राई खेलमैदानमा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता । तस्बिर : दमन राई/नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार हुँदैछ। मझुवागढी रञ्जितमान राई खेलमैदानमा जारी मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको फाइनल खेल दिउँसो १२ बजेपछि हुने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए। प्रतियोगिताको विजेताका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–७ दोर्पाचिउरीडाँडाबीचमा प्रतिष्पर्धा हुँदै छ। शनिबार भएको सेमीफाइनल खेलमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल सेमीफाइनलिष्ट बनेको छन्।  

‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारासहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा गत सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा २१ टिमले प्रतिष्पर्धा गरेका थिए। वडा कार्यालय र नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता प्रदेशसभा सांसद रामकुमार राई पासाङले उद्घाटन गरेका थिए।  

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने छन्। यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए।  

वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढी जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गरिएको हो। वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ। १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको वडाध्यक्ष राईले बताए। खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको वडाध्यक्ष राईले बताए।  

आरसिसि कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियमसहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार पारेको छ।

प्रकाशित: १६ फाल्गुन २०७७ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App