coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पोखरा म्याराथन: आर्मीका धावकको वर्चस्व

म्याराथन तथा महिला हाफ म्याराथनका विजेता धावक सामूहिक तस्बिर। तस्बिर: उमेश पुन/नागरिक

१५औं संस्करणको पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावकले वर्चस्व कायम गरेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न पोखरा म्याराथनको उपाधि उचाल्दै धावक राजन रोकायाले आर्मीको एथलेटिक्समा गर्विलो शाखलाई जोगाइराखे।  

उनले निर्धारित ४२.१९५ किलोमिटरको दूरीलाई २ घण्टा २८ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै दुई लाख राशिको अन्तर्राष्ट्रिय पोखरा म्याराथन उपाधि आफ्नो नाममा लेखाए। आर्मीकै धावक ज्ञानप्रसाद भट्टराई पाँच मिनेटले पछि पर्दै दोस्रो स्थानमा रहे। दुई घण्टा ३३.४८ मिनेट समय लगाएका भट्टराईले नगद १ लाख रूपैयाँ प्राप्त गरे।

आर्मीकै देवराज बस्नेत दुई घण्टा ४२.३९ मिनेट समयका साथ तेस्रो स्थानमा रहे। उनले नगद ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। २५ हजार रूपैयाँका साथ पाँचथरका प्रताप तोम्साहाङले सान्त्वना पुरस्कार थापे।  महिला हाफ म्याराथनको उपाधि भने नेपाल पुलिसकी राजपूरा पछाईले जितिन्। एक घण्टा २७.१ मिनेटमा दूरी पूरा गरेकी उनले एक लाख रूपैयाँ पाइन्।

जुम्लाकी धाविका राममाया बुढा एक घण्टा ३०.५ मिनेटमा दूरी पूरा गर्दै दोस्रो भइन्। सशस्त्र प्रहरी बलकी धाविका वृन्दा श्रेष्ठले एक घण्टा ३१.२ मिनेटमा दूरी पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन्। बुढाले नगद ७५ हजार र श्रेष्ठले ५० हजार रूपैयाँ प्राप्त गरे। पुलिसकी धाविका रेखा विष्टले एक घण्टा ३६.२ मिनेटमा दूरी पूरा गर्दै २५ हजार राशिको सान्त्वना पुरस्कार पाइन्।

पोखरा रंगशालाबाट सुरु भएको म्याराथन बजारका विभिन्न भाग घुमेर फेरि रङ्गशालामा आएर समापन भएको थियो। विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले पुरस्कृत गरेका थिए।  

प्रकाशित: २ फाल्गुन २०७७ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App