२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुरु

चारदेशका २०९ धावक सहभागि

पोखरामा शनिबार बिहान सुरु भएको म्याराथनमा दौड्दै प्रतिश्पर्धीहरु । तस्बिरः उमेश पुन÷नागरिक

पोखरालाई खेलकुद सहरको रुपमा पहिचान दिलाउने उद्देश्य सहित आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शुरु भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको प्रतियोगिता पोखरा रंगशालाबाट सुरु भएको हो । म्याराथनमा सहभागि धावक सहरका विभिन्न माग परिक्रमा गरेर रंगशाला फर्केर दूरी पार गर्नेछन् । म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

म्याराथनमा २०९ जना पुरुष धावक प्रतिस्पर्धामा छन् । त्यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा २९ जना महिला धाविका दौडिएका छन् । दौडका लागि पोखराका विभिन्न सडकको रुट तय गरिएको छ ।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा सहभागि भएको बताए ।  

विदेशी धावक भएपनि उनीहरु दौडिनकै लागि नेपाल आएको नभई नेपालमै बस्दै आएको अध्यक्ष गुरुङले बताए । म्याराथनमा नेपालका १३ जिल्लाका खेलाडीहरु सहभागि भएको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले जानकारी दिए ।  

उनका अनुसार बागलुङ, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, कालिकोट, रुपन्देही, दाङ, पाल्पा, स्याङ्जा, धनकुटा र ताप्लेजुङका खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै, विभागीय नेपाल प्रहरी र नेपाली सेनाका धावकहरु सहभागि भएका छन् ।

महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुसहित २९ जना सहभागि सहभागि छन् । जस अनुसार महिला हाफ म्याराथनका लागि गोरखा, जुम्ला, कास्की, प्यूठान, दार्चुला, बागलुङ तथा विभागीय नेपाली सेना र नेपाल प्रहरीका धावकहरुले नाम दर्ता गराएका छन् ।

प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा हुने गरेको यो प्रतियोगिता यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण चरणबद्ध रुपमा गरिएको छ । पहिलो चरणमा आज प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन प्रतियोगिता भएको छ ।

ईभेन्ट अन्तर्गत खुल्ला १० किलोमिटर महिला तथा पुरुष प्रतियोगिता चैत १४ गते शनिबार हुनेछ भने ५ किलोमिटर छात्र तथा छात्रा, अपांगता भएकाका लागि महिला तथा पुरुष ह्विलचियर प्रतियोगिता र दृष्टिविहीन एकसय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता बैशाख ४ गते शनिबार हुने भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

अघिल्लो संस्करणमा हरेक पटक हुँदै आएको ‘रन फर फन’ इभेन्ट भने यस पटक स्थगित गरिएको छ । म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित: १ फाल्गुन २०७७ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App