१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडको कीर्तिमानी जित

दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्ज रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित साउथह्याम्पटनविरुद्ध प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडले कीर्तिमानी ९–० को फराकिलो जित निकालेको छ।  

ओल्ड ट्राफोर्डमा भएको खेलमा फराकिलो जित निकाल्दा युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी पनि गरेको छ। समान ४४ अंक जोडेको सिटी गोलअन्तरका आधारमा शीर्ष स्थानमा अटाउँदा युनाइटेड दोस्रो स्थानमा छ। १० खेलाडीमा सीमित भ्रमणकारी टोलीविरुद्ध युनाइटेडले १८औं मिनेटमा आरोन वान बिसाकाको गोलबाट सुरुआती अग्रता लिएको थियो। २५औं मिनेटमा मार्कुस रसफोर्डले टोलीका लागि दोस्रो गोल थप्दा ३४औं मिनेटमा साउथह्याम्पटनका जान बेडनारेकले उपहार गोल दिएपछि घरेलु टोलीले अग्रता तेब्बर बनाएको थियो। कम खेलाडी भएपछि विपक्षीविरुद्ध हाबी भएको युनाइटेडका लागि ३९औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै टोलीलाई ४–० को स्थितिमा पुर्‍याए।  

पहिलो हाफमा देखाएको प्रदर्शनलाई युनाइटेडले दोस्रो हाफमा पनि निरन्तरता दिँदै थप पाँच गोल गर्‍यो। ६९औं मिनेटमा एन्थोनी मार्सियल, ७१औं मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दा युनाइटेड ६–० को स्थितिमा पुग्यो। खेल सकिन चार मिनेट बाँकी रहँदा साउथह्याम्पटनका जानले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो। ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ७–० मा पुर्‍याउँदा ९०औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो र इन्जुरी समयमा डानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९–० को कीर्तिमानी जित दिलाए।  

प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९–० को जित निकालेको छ। यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध ९–० को जित निकाल्दै कीर्तिमान बनाएको थियो। यस्तै साउथह्याम्पटनले प्रिमियर लिगमा दोस्रो पटक ९–० को हार व्यहोरेको छ। गत सिजन साउथह्याम्पटन लेस्टरसँग ९–० ले पराजित भएको थियो। प्रिमियर लिगअन्तर्गत अर्को खेलमा न्युक्यासल युनाइटेडले लिएको सुरुआती अग्रतालाई उल्टाउँदै क्रिस्टल प्यालेसले २–१ को जित निकाल्यो।

प्रकाशित: २२ माघ २०७७ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App