४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

प्रतिष्ठाको लडाइँमा भारत र अस्ट्रेलिया

बिहीबारबाट दिवा–रात्रि टेस्ट

विश्व टेस्ट वरीयताको शीर्ष टोली अस्ट्रेलियाले भारतविरुद्ध बिहीबार पहिलो दिवा–रात्रि टेस्ट खेल्दै छ। यस्तोमा दुवै टोली महत्वपूर्ण खेलाडीको चोटका कारण उनीहरूको स्थानमा कसलाई खेलाउने भन्ने दुबिधामा छन्।

विराट कोहलीको टोलीले २०१८–२०१९ मा अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखला २–१ ले जितेको थियो। सो शृंखला अस्ट्रेलियाली भूमिमा भारतले जितेको पहिलो टेस्ट शृंखला थियो। त्यो शृंखलामा बल टेम्परिङपछि एक वर्षको प्रतिबन्धमा परेका तत्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नर टोलीमा अनुपस्थित थिए।  

स्मिथ अहिले टोलीमा फर्किएका छन् र उनी आफ्नो स्वाभाविक लयमै छन्, यद्यपि वार्नर भने चोटका कारण पहिलो टेस्ट टोलीमा छैनन्। उनी पहिलो एकदिवसीय खेलमा घाइते भएका थिए, त्यसपछि शृंखलाका अन्य २ खेल तथा ट्वान्टी–२० शृंखला गुमाएका थिए।

‘यो दुई उत्कृष्ट टोलीको प्रतिष्ठाको लडाइँ हो,’ अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले भने, ‘हाम्रो टोलीमा अनुभवी खेलाडीको बाहुल्य रहेको छ। म यो रोचक भिडन्त हेर्न आतुर छु।’

दिवा–रात्रि टेस्टमा अस्ट्रेलिया सधैं हाबी हुँदै आएको छ। खेलिएका ७ मध्ये अधिकांश खेलमा अस्ट्रेलियाले सुखद नतिजा ल्याएको छ,जसमध्ये एडिलेडमा मात्र अस्ट्रेलियाले ४ खेल जितेको छ। भारतले भने हालसम्म एउटा मात्र दिवा–रात्रि टेस्ट खेलेको छ। त्यस क्रममा भारतले दुई दिनको खेलमै बंगलादेशलाई हराएको थियो।

‘हामीले यसअघि पनि दिवा रात्रि टेस्ट खेलेका छौं र हामी यसमा अभ्यस्त छौं। हामीभन्दा अस्ट्रेलिया बलियो देखिन्छ, हालै मात्र अस्ट्रेलिया ‘ए’ विरुद्धको अभ्यास खेलमा शतक पूरा गरेका भारतका ब्याट्सम्यान हनुमा बिहारीले भने, ‘दिवा–रात्रि टेस्टमा अभ्यस्त हुुनु आफैंमा एउटा चुनौती हो। हामी अस्ट्रेलियाको सामना गर्न पूर्ण रूपमा तयार छौं।

वार्नरको स्थानमा अस्ट्रेलियाले विल पुकोभ्स्कीलाई खेलाउने तयारी गरे पनि उनी पनि चोटका कारण टोलीबाट बाहिरिसकेका छन्। अस्ट्रेलियाले मार्कुस ह्यारिसलाई टोलीमा बोलाएको छ तर कसले ओपनिङ गर्ने भन्ने अझै निश्चित भइसकेको छैन। जोन बर्नस लयमा छैनन्। लयमा देखिएका म्याथ्यु वेडले वार्नरको स्थानमा ओेपनरको रूपमा आउने सम्भावना छ।

‘हामीले कठिन निर्णय लिन आवश्यक छ तर कठिन निर्णयबाटै सुखद नतिजा आउनेमा हामी आशाबादी छांै,’ ल्याङ्गरले भने, ‘टोलीमा स्थान बनाउन खेलाडीबीच तीव्र प्रतिस्पर्धा छ, जुन राम्रो पक्ष हो।’

अस्ट्रेलियाली तीव्र बलिङको मोर्चा जस हाज्लेउड, मिचेल स्टार्क र प्याट कमिङस्ले सम्हाल्नेछन् भने स्पिन अट्याकको जिम्मा नाथन लियोनले सम्हाल्नेछन्।

भारतले २०१८ मा एडिलेडमा पहिलो टेस्ट जितेको थियो, जहाँ पुजाराले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस क्रममा पुजाराले पहिलो इनिङमा १ सय २३ र दोस्रो इनिङमा ७१ रन बनाएका थिए। भारतका कप्तान विराट कोहलीले ४ टेस्टको शृंखलामा एक मात्र टेस्ट खेल्नेछन्। त्यसैले उनी आफ्नो उपस्थिति सुखद पार्न चाहन्छन्। विराटको अनुपस्थितिमा शृंखलाका बाँकी खेलमा कप्तानी सम्हाल्ने तयारीमा रहेका अजिंक्या रहाणेले बिहारीसँगै मध्यक्रम सम्हाल्नेछन्।

मोहम्मद सामी, जसप्रीत बुमरा र उमेश यादवले भारतीय तीव्र बलिङ मोर्चा सम्हाल्दा स्पिनमा रविचन्द्रन आश्विन र कुलदीप यादव रहनेछन्। एएफपी

प्रकाशित: १ पुस २०७७ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App