१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सेमी भर्चुअलमा पल्सर स्पोर्ट्स अवार्ड

सम्झौतापत्र हस्तान्तरण गर्दै एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा। तस्बिरः नागरिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड–२०७६ पुसको अन्तिममा हुने भएको छ।

नेपाली खेलाडी र खेलकर्मीलाई प्रदान गरिँदै आएको खेलकुदकै सबैभन्दा ठूलो अवार्डको १७औं संस्करण आगामी पुस २८ गते हुने भएको हो। आइतबार एक कार्यक्रमबीच आयोजक एनएसजेएफले यस पटक अवार्ड ललितपुरस्थित कराते एकेडेमी हलमा हुने जनाएको छ। कोरोना भाइरस महामारीका कारण प्रभावित हुँदै आए पनि अन्ततः आयोजकले अवार्डको मिति नै तय गरेको छ। प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि यस पटक महामारीका कारण केही ढिलो हुन लागेको हो। 

प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि यस पटक महामारीका कारण केही ढिलो हुन लागेको हो।   

यद्यपि, संक्रमण जोखिमका कारण अवार्ड सेमी भर्चुअलमा हुने आयोजक एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)ले जानकारी दिए। आइतबार नै घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र मुख्य प्रायोजक बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।  

सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६ सय रुपैयाँ उपलब्ध गराउनेछ र अवार्डको नाम पल्सर स्पोर्ट्स अवार्ड हुनेछ। अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदरस्वरूप स्पेसल अवार्ड, जीवन नै खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।  

त्यस्तै समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एक जना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन्। यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गर्नेछन्।

प्रकाशित: २९ मंसिर २०७७ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App