१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

कतारद्वारा सहयोगको आग्रह

सन् २०३० को एसियाली खेलकुद आयोजना

सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गरिरहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग औपचारिक रूपमा सहयोग र समर्थन गर्न आग्रह गरेको छ।  

कतार ओलम्पिक कमिटीका महासचिव रसिद जेए अल्बुनइनको नेतृत्वको १२ सदस्यीय टोलीले बिहीबार सातदोबाटोस्थित एनओसी कार्यालयमा नेपाली पक्षसँग सहयोगका लागि आग्रह गरेको हो। कतारी टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वको नेपाली पक्षसँग द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल अगाडि बढाएको थियो। उक्त अवसरमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठलगायत थिए। सन् २०३० को एसियाली खेलकुदका लागि दुई राष्ट्र कतार र साउदी अरबले दाबेदारी गरिरहेका छन्।

आगामी डिसेम्बर १६ मा ओमानमा हुने ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभामा एसियाली खेलकुदका लागि आयोजक राष्ट्रको टुङ्गो लाग्नेछ। दुई राष्ट्रमध्ये एकमा सहमति हुन नसके मतदान हुनेछ। कतारले दोहा २०३० एसियाली खेलकुदको दाबेदारी प्रस्तुत गर्दै आइरहेको छ। त्यसैले कतारी टोली समर्थनका लागि नेपाल भ्रमणमा आएको हो। कतार ओलम्पिक कमिटीका महासचिव रसिद र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मेद अहमदलगायत टोलीले सातदोबाटोस्थित नेपाल ओलम्पिकको कार्यालयमा पुगेर छलफल गरेको थियो।

सो अवसरमा टोलीले आफ्नो दाबेदारीका विशेष कार्यक्रमसमेत पनि प्रस्तुत गरेको थियो। कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै एसियाली खेलकुद आयोजनामा दाबेदारीका लागि कतारलाई सफलताको शुभकामना दिएका थिए। ‘कतारले यसअघि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ। सन् २०२२ को विश्वकप पनि आयोजना गर्दै छ। खेलकुद विकासमा कतार र नेपालबीच आपसी सहयोगका हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने,‘नेपाल र कतारको द्विपक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्धलाई पनि बलियो बनाउन मद्दत मिलेको छ।’  

यता, कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरेका थिए। कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन थिए।

प्रकाशित: १९ मंसिर २०७७ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App