२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एक वर्षपछि खर्चविवरण सार्वजनिक

१३औं दक्षिण एसियाली खेलकुद

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको एक वर्ष बित्न एक दिन  बाँकी छँदा खर्चविवरण सार्वजनिक गरेको छ।

राखेपले १३औं साग उद्घाटनको वर्ष दिन पुग्नुभन्दा एक दिनअगाडि मात्र खर्च विवरण सार्वजनिक गरेको हो। राखेप सदस्यसचिव रमेशकुमार सिलवालले आइतबार राखेपमा पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ र पूर्वाधार निर्माणतर्फ हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको बताए। नेपालमा २० वर्षपछि आयोजना भएको दक्षिण एसियाली राष्ट्रको खेल महोत्सव सागको १३औं संस्करण गत वर्ष मंसिर १५ देखि २४ गते सम्पन्न भएको थियो। यद्यपि, लामो समय बितिसक्दा पनि राखेप सदस्यसचिव रमेश सिलवालले समयमा नै त्यसको खर्च विवरण सार्वजनिक गर्न आनाकानी गरेका थिए।  

साग आयोजना तथा सञ्चालन कार्यविधिले पनि १३औं साग सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान तय गरे पनि राखेपले अटेर गरिरहेको थियो। त्यसबीच युवा तथा खेलकुद मन्त्रालयले पनि १३औं सागको कार्यकारी समितिका संयोजक एवम् राखेप सदस्यसचिव सिलवाललाई समयमै खर्चविवरण सार्वजनिक गर्न गत जेठ २० गते पनि पत्र काटेको थियो। सागका सामग्री सीधा खरिद प्रक्रियाअन्तर्गत खरिद हुनु र राखेपले पनि खर्च विवरण सार्वजनिक गर्न ढिलाइ गरेपछि १३औं सागमा भ्रष्टाचार भएको  टिप्पणीसमेत भएको थियो।

त्यसैबीच खेल संघकै पदाधिकारीले सागका समय ब्याडमिन्टनमा भ्रष्टाचार भएको आरोप लगाएसँगै मन्त्रालयले नै छानबिन समिति गठन गर्न राखेपलाई निर्देशन दिएको थियो। सोही छानबिन समितिले ब्याडमिन्टनमा भ्रष्टाचार भएको प्रतिवेदनसहित राखेप र मन्त्रालयलाई बुझाएको थियो। त्यस प्रतिवेदन सार्वजनिक भएसँगै १३औं सागका आयोजनाका कार्यकारी समितिका संयोजक एवम् राखेप सदस्यसचिव सिलवालमाथि तीव्र आलोचनासमेत भइरहेको थियो। यद्यपि, राखेप सदस्यसचिव सिलवालले आइतबार राखेपमा पत्रकार सम्मेलन आयोजना गर्दै खेल आयोजना भएका तीन स्थलमध्ये पोखरा र जनकपुरबाट समय खर्चविवरण पेस हुन नसकेकाले ढिलाइ भएको दाबी गरे।  

साथै सिलवालले यसै समयमा आएका भ्रष्टाचार आरोपप्रति सत्यता नरहेको दाबी गर्दै ब्याडमिन्टनको भ्रष्टाचार छानबिनबारे भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवरण पठाइसकेको बताए। उनले आरोपितमाथिको कारबाहीका लागि अख्तियारको निर्देशन कुरेको समेत स्पष्ट पारेका छन्। घरेलु भूमिमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको थियो। सागका लागि पाँच अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकारले ३ अर्ब ६५ करोड विनियोजन गरेको थियो।  

सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ आय र १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ खर्च भएको राखेपले उल्लेख गरेको छ। यस्तै राखेपले तीन करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैंक मौज्दात रहँदा एक करोड ९३ लाख ८० हजार २ सय २४ फ्रिज भएको जनाएको छ। ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटबल म्याट, टेबलटेनिस म्याट र पदक, किड्ससम्बन्धी सामग्री गरी कुल चार करोड ८१ लाख ३० हजार बराबरको सहयोग प्राप्त भएको विवरणमा उल्लेख छ।  

पर्ख र हेरको स्थितिमा नवौं  
सो कार्यक्रममा सदस्यसचिव सिलवालले पश्चिमाञ्चलमा यसै वर्ष आयोजना हुने भनिएको नवौं राष्ट्रिय खेलकुदका लागि कोरोनाका कारण हेर र पर्खको अवस्थामा रहेको बताए। ‘संरचनाका हिसाबले हामी पूर्ण तयारकै अवस्थामा छौं। त्यहाँ पौडी र सुटिङ रेन्जको मात्र केही समस्या थियो, त्यो पनि लगभग तयारी अवस्थामा छ। त्यसैले नवौं प्रभावित भए कोरोनाकै कारण हुनेछ,’ सदस्यसचिव सिलवालले प्रस्ट्याए।    

साथै उनले १४औं साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि त्यहाँको सरकारबाट हालसम्म औपचारिक निर्णय नभएको समेत बताएका छन्। पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि सिलवालले बताए।

नेपालमा २० वर्षपछि आयोजना भएको दक्षिण एसियाली राष्ट्रको खेल महोत्सव सागको १३औं संस्करण गत वर्ष मंसिर १५ देखि २४ गते सम्पन्न भएको थियो। यद्यपि, लामो समय बितिसक्दा पनि राखेप सदस्यसचिव रमेश सिलवालले समयमा नै त्यसको खर्च विवरण सार्वजनिक गर्न आनाकानी गरेका थिए।

प्रकाशित: १५ मंसिर २०७७ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App