२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नाडाल सेमिफाइनलबाट बाहिर

शीर्ष खेलाडी राफाइल नाडाल शनिबार जर्मनीका एलेक्जेन्डर भेरेभसँग स्तब्ध हुँदै पेरिस मास्टर्सको सेमिफाइनलबाटै बाहिरिएका छन्।

स्पेनिस स्टार नाडाल विश्व नम्बर चारका भेरेभसँग ६–४ र ७–५ ले पराजित हुँदै पेरिस मास्टर्सको सेमिफाइनलबाटै बाहिरिएका हुन्। सन् २००७ मा यसै प्रतियोगिताको फाइनलमा पुगेका नाडालको मेडन उपाधि जित्ने लक्ष्य यस पटक पनि पूरा हुन सकेन। २० पटकका ग्रान्ड स्लाम च्याम्पियन नाडालले ४–२ ले पछि परेको स्थितिबाट पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेनन्। २३ वर्षे भेरेभेले नाडालको पुनरागमन लक्ष्यलाई असफल पारेका थिए। भेरेभले आफ्नो चौथो मास्टर्सको उपाधिका लागि विश्व नम्बर तीन रसियन स्टार डानिल मेदभेदेभविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

मेदभेदेभले भने क्यानेडियन मिलोस राओनिकलाई ६–४ र ७–६ (४) ले हराउँदै उपाधि यात्रा तय गरेका थिए। ‘खेल निकै राम्रो स्थितिमा रहेको महसुस गरेको थिएँ। फाइनलमा पुगेकाले निकै खुसी छु। राफालाई हराएर फाइनलमा पुगेकाले आशा राम्रो छ,’ भेरेभले भने, ‘उनीविरुद्ध जित निकाल्नु त्यति सहज छैन। त्यसैले राफालाई हराएर फाइनलमा पुग्नु भनेको छुट्टै आत्मविश्वास मिल्नेछ। अझैं पनि डानिल जस्ता राम्रा खेलाडी फाइनलमा छन्।’ यता पराजित भएका नाडालले पेरिसमा आफ्नो समग्र प्रदर्शनप्रति सन्तुष्ट रहेको बताए।

‘मैले यो प्रतियोगितामा राम्रै गरेँ जस्तो लाग्छ। सुरुआत जस्तो अन्त्यचाहिँ हुन सकेन। उनले आज निकै राम्रो खेले, त्यसैले फाइनलमा पुग्न सकिनँ,’ नाडालले भने। २४ वर्षे डानिलले आफ्ना पछिल्ला आठ खेलमध्ये पाँच खेलमा हार बेहोरेर यस प्रतियोगिताको सुरुआत गरेका थिए। सेमिफाइनलमा पनि राओनिकलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाए।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App