२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कामाभिन्गाको यादगार प्रदर्शन

युक्रेनविरुद्ध गोल गरेपछि फ्रान्सका इडुवार्डो कामाभिन्गा (बायाँ) । तस्बिर: एएफपी

इडुवार्डो कामाभिन्गा फ्रान्सका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेको दिन विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुधबार युक्रेनमाथि ७–१ को फराकिलो सफलता निकालेको छ ।  

बुधबारकै अन्य खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेल्दा जर्मनी र टर्कीले ३–३ को बराबरी खेलेका छन् । विश्वविजेता फ्रान्सलाई फराकिलो जित निकाल्न युवा खेलाडी इडुवार्डो कामाभिन्गाले उत्कृष्ट प्रदर्शन गरे । उनका अलावा ओलिभर जिरौडको खेल पनि उत्कृष्ट रह्यो । घरेलु मैदानमा फ्रान्सका लागि ओलिभर जिरौडले २४औं र ३४औं मिनेटमा गोल गरे । कामाभिन्गाले नवौं, तोलिसोले ६५औं, किलियन एमबाप्पेले ८२औं तथा एन्टोनी ग्रिजम्यानले ८९औं मिनेटमा गोल गरेका थिए । युक्रेनका लागि सिगान्कोभले ५३औं मिनेटमा गोल गरेर अग्रता घटाउने प्रयास गरेका थिए ।

फ्रान्सलाई अग्रता दिलाएका कामाभिन्गा सबैभन्दा सानो उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी भएका छन् । १७ वर्षे कामाभिन्गाले नवौं मिनेटमा गोल गर्दै घरेलु टोली फ्रान्सलाई अग्रता दिलाएका थिए ।  

यसअघि ३९औं मिनेटमा युक्रेनका माइकोलेन्कोले फ्रान्सका लागि उपहार गोल प्रदान गरेका थिए । बुधबार दुई गोल गरेका ३४ वर्षका जिरौडले फ्रान्सका लागि १ सय खेल खेल्दा ४२औं गोल पूरा गरेका छन् । फ्रान्सका लागि पहिलो गोल गरेका कामाभिन्गा सबैभन्दा सानो उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी भएका छन् । १७ वर्षका कामाभिन्गाले फ्रान्सका लागि नवौं मिनेटमा गोल गर्दा घरेलु टोलीले अग्रता बुनेको थियो । १ सयौं खेल खेलेका जिरौडलाई प्रशिक्षक डिडियर डेसच्याम्पले कप्तानको जिम्मेवारी दिएका थिए । ‘जिम्मेवारी दिएको दिन जिरौडले दुई गोल गर्दै सफल खेलाडीका रूपमा आफूलाई प्रमाणित गरेका छन्,’ फ्रान्सका प्रशिक्षक डेसच्याम्पले भने, ‘आउँदा दिनमा पनि जिरौडलाई जिम्मेवारीको सम्भावना बढेको छ ।’

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बुधबार नै भएको अर्को खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेले । युभेन्ट्सबाट मैत्रीपूर्ण खेलका लागि पोर्चुगल पुगेका रोनाल्डोले केही राम्रा अवसर सिर्जना गरे पनि स्पेनको पोस्टमा जाली चुमाउन असफल रहे । यस्तै निकै प्रतिस्पर्धात्मक अर्को खेलमा जर्मनीले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा भ्रमणकारी टोलीले टर्कीसँग ३–३ को बराबरीमा चित्त बुझायो । अन्य खेलमा क्रोएसियाले स्विट्जरल्यान्डलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनाउँदा इटालीले माल्डोभामाथि ६–० को गोलवर्षा ग¥यो । पोल्यान्डले फिनल्यान्डलाई ५–१ र मेक्सिकोले नेदरल्यान्ड्सलाई १–० ले हराए ।  

प्रकाशित: २३ आश्विन २०७७ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App