७ वैशाख २०८१ शुक्रबार
खेल

ललितलाई राखेपले सहयोग गर्ने

सडक दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय टोलीका सदस्य ललितसिंह भण्डारीको उपचारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने भएको छ।  

ललितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुगेका राखेप सदस्यसचिव रमेशकुमार सिलवालले उनको परिवारसँग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउँदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सो अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का पनि उपस्थित थिए।

गत आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। अचेत अवस्थामा भण्डारीलाई धनगढीको निसर्ग अस्पताल हुँदै आइतबार राति नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। कलेजोमा पनि केही समस्या देखिएपछि सोमबार नै ललितलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।  

बायाँहाते तीव्र गतिका बलर ललित टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्। सदस्यसचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसँग भेट गरी ललितको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए।

प्रकाशित: १ आश्विन २०७७ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App