१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वालिङमा महिला फुटबल हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७७

वालिङको मालेबगर खेलमैदानमा निर्माण गरिएको प्यारापिट। तस्बिरः नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला राष्ट्रिय फुटबल प्रतियोगिता स्याङ्जाको वालिङस्थित मालेबगरमा आयोजना गरिने तय गरिएको छ। आँधीखोला किनारमा रहेको मालेबगर खेलमैदानलाई स्तरोन्नति गरिएपछि महिला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने निक्र्याेल गरिएको हो।  

गत वर्ष राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि मैदानको स्तरोन्नति गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जनाए। ‘४० लाख रुपैयाँले मैदान स्तरोन्नतिसँगै पूर्वतर्फ प्यारापिटसहित चेन्जिङ रुम तथा शौचालय निर्माण गरिएको छ,’ बिहीबार वालिङस्थित मालेबगर खेलमैदानको अनुगमन गर्न पुगेका योगीले भने, ‘यो वर्ष १० लाख रुपैयाँ बजेट छ। त्यसले फिनिसिङ गराउने तर्फ आग्रह गरेका छौं।’  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिकै इन्जिनियर प्रनिस ताम्राकारका अनुसार फुटबलका लागि आवश्यक मैदानको मापदण्ड पुग्छ। ‘३ सय दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ,’ उनले भने, ‘२५ फिट चौडाइ र ४७ फिट लम्बाइको प्यारापिट बनाइएको छ।’ उनले अब चेन्जिङ रुम तथा शौचालयलाई अन्तिम रूप दिन बाँकी रहेको उल्लेख गरे।  

अनुगमनका लागि पुगेका जिल्ला खेलकुद विकास कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले मोफसलमा खेलकुदको विकास र विस्तारका लागि प्रत्येक जिल्लामा प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए। उनले भने,‘सबै जिल्लामा खेल सञ्चालन गरिए खेलकुदको विकास र विस्तारमा टेवा पुग्छ। पूर्वाधारको विकास हुन्छ।’ गण्डकी प्रदेश महिला फुटबल टोलीमा अधिकांश वालिङकै खेलाडी छन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन २०–२७ मा आयोजना गर्ने तयारी छ। तर कोरोना कहरसँगै लकडाउनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र प्रशिक्षणको तयारी भइसकेको छैन।  

जिल्ला खेलकुद विकास समितिका स्याङ्जाका प्रशिक्षक बरुण गैह्रेले नवौं राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि आवश्यक तयारीमा कुनै कमी नहुने जिकिर गरे। ‘मैदान तयार छ। चेन्जिङ रुम बनाउन बाँकी छ,’ उनले भने, ‘मैदानसहित खेलाडीलाई आवासीय सुविधासमेत पर्याप्त छ।’ राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि वालिङ नगरपालिका, स्थानीय उद्योगी व्यवसायीलगायतले समेत सहयोग गर्ने उनको भनाइ थियो। 

प्रकाशित: २६ भाद्र २०७७ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App