७ वैशाख २०८१ शुक्रबार
खेल

रोनाल्डोद्वारा सय अन्तर्राष्ट्रिय गोल

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले  सय अन्तर्राष्ट्रिय  गोल पूरा गरेको दिन मंगलबार पोर्चुगलले युइएफए नेसन्स कपमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको स्विडेनलाई २–० ले हराएको छ। त्यस्तै विश्वकप विजेता फ्रान्सले क्रोएसियामाथि ४–२ को सहज जित हात पारेको छ।

पहिलो हाफअन्तर्गत अतिरिक्त समयको पहिलो मिनेटमा २५ यार्ड परबाट फ्रि–किकलाई पोस्टको दिशा दिँदै ३५ वर्षे रोनाल्डोले १ सय अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेका थिए। ७२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै पोर्चुगलको जित यात्रालाई निरन्तरता दिए।  

‘यी दुई गोल मेरा लागि विशेष छन् किनभने मैले यिनै गोलमार्फत कठिन कोसेढुंगा पार गर्न सकें,’ रोनाल्डोले भने, ‘म धेरै खुसी छु, किनभने हामीले स्विडेनजस्तो बलियो टोलीलाई निराश बनायांै, हाम्रो जितयात्राले निरन्तरतासमेत पाइरहेको छ। ’

‘बन्द रंंगशालामा खेल्नु निकै दुख लाग्छ। समर्थकबिना खेल्दा खेलाडीको मनोबल घट्ने गर्छ,’ रोनाल्डोले थपे।

१८ वर्षको उमेरमा सन् २००३ मा पोर्चुुगलको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले सन् २००४ को युरो कपको समूह चरणमा ग्रिससँग २–१ ले पराजित भएको खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेका थिए। रोनाल्डोले सयमध्ये १७ गोल मैत्रीपूर्ण खेलमा गरेका छन् भने फिफा र युइएफएका छनोट खेलमा ९ ह्याट्रिक गरेका छन्।

पहिलो हाफअन्तर्गत अतिरिक्त समयको पहिलो मिनेटमा २५ यार्ड परबाट फ्रि–किकलाई पोस्टको दिशा दिँदै ३५ वर्षे रोनाल्डोले १ सय अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरेका थिए।

लिग ‘ए’ समूह ३ मा पोर्चुगल ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा छ। अंक खाता खोल्न नसकेका स्विडेन र क्रोएसिया क्रमशः तेस्रो र चौथौ स्थानमा छन्।

गत साता समूहको पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले हराएको थियो भने फ्रान्सले स्विडेनलाई १–० ले हराएको थियो।

लिग ‘ए’ समूह ३ अन्तर्गत मंगलबारै भएको अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हरायो।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौड र डेयोट उपामेकानोले समान एक गोल गरेका थिए भने क्रोएसियाका डोमिनिक लिभाकोभिचले एक आत्मघाती गोल गरेका थिए। क्रोएसियाका डेजान लोभरेन र जोसेफ ब्रिकालोले समान एक गोल गरे पनि त्यो टोलीको हार टार्न पर्र्याप्त भएन।

त्यस्तै फिफा वरीयताको शीर्ष टोली बेल्जियमले लिग ‘ए’ समूह २ मा आइसल्यान्डमाथि ५–१ को रबाफिलो जित हात पारेको छ।  

बेल्जियमको जितमा मिचे बात्सुयीले २ तथा एक्सेल विटसेल, द्रिइस मार्टिन्स र जेर्मी डोकुले समान एक गोल गरेका थिए। आइसल्यान्डका होल्मबर्ट एरोन फ्रिडजोन्सनले सान्त्वना एक गोल गरेका थिए। यसअघि गत साता समूहको पहिलो खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको थियो।  

लिग ‘ए’ समूह २ मा बेल्जियम ६ अंकका साथ शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड ४ अंकका साथ दोस्रो स्थानमा छ। डेनमार्क १ अंक जोड्दै तेस्रो स्थानमा छ। अंकविहीन आइसल्यान्ड चौथो स्थानमा छ।  

समूहको अर्को खेलमा इङ्ल्यान्ड भने डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रकाशित: २५ भाद्र २०७७ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App