७ वैशाख २०८१ शुक्रबार
खेल

रोड्रिग्वेज र एन्सेलोट्टीबीच तेस्रो सहकार्य

हामेस रोड्रिग्वेज

इङ्लिस प्रिमियर लिग एभर्टनले कोलम्बियाका हामेस रोड्रिग्वेजलाई रियाल मड्रिडबाट अनुबन्धित गरेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनीसँग तेस्रो पटक काम गर्ने भएका छन्।

सन् २०१४ को विश्वकपमा सर्वाधिक गोलकर्ता कोलम्बियन प्लेमेकर रोड्रिग्वेजका लागि एभर्टनले २२ मिलियन युरो खर्चिएको हो। २९ वर्षे रोड्रिग्वेज एक समय उम्दा प्रदर्शनमा रहँदा ८० मिलियन युरोमा ६ वर्षअगाडि स्पेनिस क्लब रियालमा आबद्ध भएका थिए। उनले स्पेनको राजधानीमा आफ्नो पहिलो सिजनमा पनि एन्सेलोट्टीकै प्रशिक्षणमा बिताएका थिए। बेर्नाबेउमा जिनेदिन जिदानको दुई कार्यकालमा उनी आफ्नो प्रभाव जमाउन असफल भएका थिए। त्यससँगै उनी सन् २०१७ र ०१९ को सिजनमा बायर्न म्युनिखमा लोनमा गएका थिए, जहाँ उनले एन्सेलोट्टीसँगै काम गरेका थिए।

नेपोलीबाट ब्राजिलियन एलेन आबद्ध भएपछि रोड्रिग्वेज एभर्टनका लागि अनुबन्धित हुने दोस्रो खेलाडी हुन्।  गत सिजन १२औं स्थानमा खुम्चिएको एभर्टनले यस सिजन  राम्रो प्रदर्शन गर्न सक्ने आशा गरिएको छ। ‘म कार्लो र उनको टिम व्यवस्थापनप्रति पूर्ण जानकार छु। म यस क्लबमा आबद्ध हुनुको कारण पनि स्पष्ट छ,’ रोड्रिग्वेजले भने, उनीसँग दुई फरक क्लबबाट मैले यादगार क्षण बिताएको छु।’ एभर्टनले सन् १९९५ पछि कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन, तर दुई वर्षका लागि अनुबन्धित रोड्रिग्वेजले क्लबलाई तेस्रो स्थानसम्म लैजाने लक्ष्य देखाएका छन्।  

गत जुन सिजन पुनः सुरु भएपछि मिडफिल्डमा राम्रो गर्न नसकेका एन्सेलोट्टीले सिजनको दुखद अन्त्य गरेका थिए। ‘हामेस कति राम्रा खेलाडी हुन् भन्ने सबैलाई थाहा छ। उनी धेरै क्षमतावान् खेलाडी हुन र उनले एसिस्ट र स्ट्राइकर दुवैमा राम्रो भूमिका निर्वाह गर्न सक्छन्,’ एन्सेलोट्टीले भने, ‘उनको अनुबन्धनबाट निकै खुसी छौं। मैले उनलाई यस क्लबमा ल्याउन खासै धेरै समय खर्चेका थिइनँ किनकि उनी आफैंप्रति पूर्ण विश्वस्त थिए।’ एभर्टनले आइतबार टोटेनह्यामसँग खेल्दै यस सिजनको प्रिमियर लिग यात्रा सुरु गर्नेछ। 

प्रकाशित: २४ भाद्र २०७७ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App