८ वैशाख २०८१ शनिबार
खेल

महानगरपालिकाको योजनामा विद्यालयस्तरीय मेयर कप

खेलकुदको सहर बनाउने ध्येयमा लागेको पोखरा महानगरपालिकाले यसै वर्षदेखि महानगरस्तरीय मेयर कप आयोजना गर्ने योजना बनाएको छ। महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।  

विभिन्न नगरपालिकाले मेयर कप आयोजना गर्दै आएका छन्। दुई वर्षदेखि बागलुङ  नगरपालिकाले अन्तर नगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। पोखरा महानगरपालिकाले पनि मेयर कप आयोजना गर्ने योजनासहित बजेट छुट्ट्याएको हो। ‘महानगर खेलकुद समिति गठन गर्ने तयारीमा छ। समिति गठन गरेपछि समितिले बनाएको क्यालेन्डरअनुसार मेयर कप आयोजना गर्छांै,’ पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘मेयर कपमा यही नै खेल आयोजना गर्ने भन्ने निक्र्याेल छैन। तर फुटबल नै आयोजना गरिनेछ।’  

खेलकुद गतिविधिलाई बढाउन महानगरपालिकाले मेयर कपसहित अन्य खेलकुदजन्य कार्यक्रम गर्ने योजना बनाएको छ। महानगरपालिकाले विविध खेलकुद कार्यक्रमको लागि १५ लाख रुपैयाँ छुट्ट्याएको छ। ‘मेयर कप आगामी माघ फागुन नभए नयाँ वर्षमा आयोजना गर्नेछौं। किनकि कोरोनाको विषम परिस्थिति त्यति बेलासम्म केही सहज हुने विश्वास छ,’ उनको भनाइ थियो। महानगर खेलकुद समिति गठनपछि खेलकुदको गतिविधि बढ्नेमा विश्वस्त रहेको उनको भनाइ थियो।  

महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।  

पोखरालाई अन्तर्राष्ट्रिय बजारमा परिचय दिने उद्देश्यसहित अन्तर्राष्ट्रियस्तरको पोखरा साइकल दौडको समेत आयोजना गरिनेछ। साइकल दौडका लागि १० लाख रुपैयाँ छुट्ट्याइएको छ। ‘दश लाख रुपैयाँले अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिन्छ,’ पोखरा साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने, ‘कोरोना कहर सकिएपछि आयोजना गर्नेछौं।’ उनका अनुसार प्रतियोगिता आयोजना तयारी गरिएको थियो। कोरोना कहरले रोकियो।  

साइक्लिङ संघ कास्कीका अध्यक्ष भण्डारीले पोखरा १३ आर्वामा ‘इन्डुरो’ गर्ने योजना बनाइएको बताए। २ किलोमिटर डाउनहिल र त्यसपछि अपहिल गरी एकै ठाउँमा भेट हुने गरी ठाउँ तयार गरिएको थियो। पोखरामा साइक्लिङ आइभी (चौथो) आयोजना गरिएको थियो।  त्यसै गरी पोखरा म्याराथन प्रवद्र्धन गर्न महानगरपालिकाले १० लाख रुपैयाँ छुट्ट्याइएको छ। बर्सेनि क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको सहारा क्लबलाई समेत महानगरपालिकाले सहारा दिने प्रयास गरेको छ। मोफसलकै गर्विलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकपलाई यसै वर्षदेखि २ लाख रुपैयाँ महानगरले छुट्ट्याइदिएको छ।  

प्रकाशित: २२ भाद्र २०७७ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App