७ वैशाख २०८१ शुक्रबार
खेल

आर्सनललाई कम्युनिटी सिल्ड

इङ्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई शनिबार पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।  

वेम्बलीमा भएको खेल निर्धारित समय १–१ गोलमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। प्रिमियर लिगको विजेता र एफए कपको विजेताबीच भिडन्त हुने गर्छ। एफए कपको फाइलनमा चेल्सीलाई हराएको २८ दिनपछि आर्सनलले लिभरपुललाई हराउँदै उपाधि उचाल्न सफल भएको हो। यससँगै आर्सनल टोलीले पछिल्लो समय खेलमा निकै सुधार गरेको संकेत देखाएको छ। प्रशिक्षक मिकेल अर्टेटालाई जितले राहत मिलेको छ।  

आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पिएरे इमेरिक औबामेयाङले पेनाल्टीलाई सदुपयोग गर्दा लिभरपुलका युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार बारमा लागेर फर्किंदै आर्सनलको उपाधि पक्का भएको थियो। यसअघि लिभरपुलका मोहम्मद सालाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले जाली चुमाएका थिए।  

यसअघि निर्धारित समय दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका थिए। आर्सनलले १२औं मिनेटमा अग्रता लिएको थियो। औबामेयाङले गोल गर्दै खेलमा अग्रता निकालेका थिए। तर, खेलको ७३औं मिनेटमा मिनामिनोले बराबरी गोल फर्काउँदा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। बन्द रंगशालामा भएको बाँकी समयमा दुवै टोलीले स्पष्ट जितका लागि संघर्ष गरे पनि सफल हुन सकेनन् र निर्णय पेनाल्टीबाट भएको हो।  

उपाधि उचालेको आर्सनलले यससँगै १६औं पटक कम्युनिटी सिल्डको उपाधि उचालेको छ। प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको फाइनलमा खेल्ने गर्छन्। लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि उचाल्दा आर्सनलले एफए कपमा चेल्सीलाई २–१ ले स्तब्ध बनाउँदै कीर्तिमानी १४औं पटक उपाधि जितेको थियो।

प्रकाशित: १५ भाद्र २०७७ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App