१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सेरेनालाई कीर्तिमानको अवसर

सोमबारबाट युएस ओपन २०२० सुरु हुँदा अमेरिकी महिला टेनिस स्टार सेरेना विलियम्ससामु मार्गरेट कोर्टको २४औं ग्रान्ड स्लाम कीर्तिमानको बराबरी गर्ने सुनौलो अवसर हुनेछ।  

कोरोना भाइरस महामारीका कारण युएस ओपनमा यस पटक समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ। त्यसैले खेलाडीले यस पटक दर्शकको चर्को हुटिङ सबैभन्दा बढी गुमाउनेछन्।

विलियम्सले २३औं ग्रान्ड स्लाम जितेको २ वर्ष बितिसकेको छ। कोर्टमा कीर्तिमान बराबरी गर्न विगत २ वर्षमा सेरेनाले ४ वटा फाइनलमा प्रतिस्पर्धा गरे पनि उपविजेतामा सीमित बन्दै आएकी छिन्।  

‘खेलाडीका लागि समर्थकले सधंै विशेष अर्थ राख्छन्, जुन यस पटक हामीले देख्न पाउने छैनौं,’ विलियम्सले भनिन्, ‘तर भावनात्मक रूपमा भने हाम्रा समर्थकको साथ र समर्थन सधैँ रहनेछ। मैले आजसम्म यस्तो कठिन अवस्थामा प्रतिस्पर्धा गरेको छैन, मेरा लागि पनि यो बिलकुलै नयाँ अनुभव हो।’

अथर एसे स्टेडियमको कुल दर्शक क्षमता २३ हजार छ तर सोमबारबाट सुरु हुने प्रतियोगितामा ती सबै स्थान खाली रहनेछन्।  

‘स्टेडियम ठूला भएकाले पनि न्युयोर्कमा खेल्नु रोचक हुनेछ,’ विलियम्सले भनिन्, ‘तर मैले बन्द कोर्टमा भने अभ्यास गर्दै आएको छु। प्रतिस्पर्धा गर्नु नयाँ अनुभव हो र हामीले धेरै कुरा सिक्ने अवसरसमेत पाउनेछौं।’

‘खेलजीवनमा म कहिल्यै पनि सन्तुष्ट भइनँ। सायद खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र म सन्तुष्ट हुन्छु होला। मेरो व्यक्तित्व नै त्यस्तो छ।’

विलियम्सले सन् २०१७ मा आफ्नो २३आंै ग्रान्ड स्लामको रूपमा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। सो समयमा उनी गर्भवती थिइन्।

सन् २०१८ को अस्ट्रेलियन ओपन र युएस ओपनका साथै  २०१९ को अस्ट्रेलियन ओपन र युएस ओपनको फाइनलमा प्रवेश गरे पनि उनी ४ पटक नै फाइनलमा निराश भएकी थिइन्।

‘म रोकिएकी थिएँ,’ कोर्टसँगको कीर्तिमानी बराबरी गर्ने लक्ष्यका बारेमा विलियम्स भन्छिन्,  ‘खेलजीवनमा म  कहिल्यै पनि सन्तुष्ट भइनँ। सायद खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र म सन्तुष्ट हुन्छु होला। मेरो व्यक्तित्व नै त्यस्तो छ।’

यस पटक प्रतियोगितामा विश्व नम्बर एक एस्लेघ बार्टीका साथै सिमोना हालेफ र बियान्सा एन्डे«स्क्युले भने व्यक्तिगत कारण देखाउँदै यस पटक प्रतियोगितामा सहभागी नहुने जनाइसकेका छन्।

तर विलियम्स स्वाभाविक लयमा फर्कन अझै संघर्ष गरिरहेकी छिन्। कोरोना भाइरसका कारण रोकिएको डब्लुटिए फर्किएपछि खेलिएको लेसिङ्टन ओपन र वेस्टर्न एन्ड साउथर्न ओपनमा उनी सुरुआती चरणबाटै बाहिरिएकी थिइन्। लेसिङ्टन ओपनमा १ सय १६औं वरीयताकी सेल्बे रोजर्स र  वेस्टर्न एन्ड साउथर्न ओपनमा २१औं वरीयताकी मारिया साकारीसँग निराश भएकी थिइन्।

‘मेरा सामु सुनौलो अवसर छ र म त्यसको सदुयोग गर्नेमा विश्वस्त छु,’ विलियम्सले भनिन्।

प्रकाशित: १५ भाद्र २०७७ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App