१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसीको गन्तव्य कता ?

युरोपका प्रतिष्ठित क्लब विश्वकै उत्कृष्ट खेलाडी भित्र्याउन तँछाडमछाड गर्दै छन् । तर बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले अबको गन्तव्य कहाँ बनाउँछन्, त्यसले भने सबैलाई आश्चर्यमा पार्ने निश्चित छ ।

अर्जेन्टिनी स्ट्राइकर मेसीलाई टोलीमा भित्र्याउने अवसर पाए त्यो कुनै क्लबले पनि गुमाउन चाहँदैन । मेसीले मंगलबार क्लब अध्यक्षलाई इमेल पठाउँदै क्लब छाड्ने कठिन निर्णय लिएको बताएका थिए । तर स्थिति फरक छ । तर, नवनियुक्त स्पोर्टिङ डाइरेक्टर रामोन प्लेन्सका अनुसार मेसीले प्रशिक्षकलाई अभ्यासका लागि उपस्थित नहुने बारेमा जानकारी नगराएको अभिव्यक्ति दिएका छन् । केही क्लब मात्र मेसीका लागि तोकिएको रिलिज सर्त पूरा गर्दै मेसीलाई भित्र्याउने अन्तिम दाबेदारका रूपमा देखा परेका छन् ।

म्यानचेस्टरको चासो
मेसीले बार्सिलोना छाड्न चाहेको खबर सार्वजनिक भएपछि त्यसले अहिले बजार पिटिरहेको छ । मेसी विगत लामो समयदेखि प्रिमियर लिग पछ्याउँदै आएका छन् र उनलाई प्रिमियर लिगसम्बन्धी धेरै जानकारी पनि छ । कारण उनका दुई मिल्ने साथी सर्जियो अग्विरो र सेस फाब्रिगासले लामो समय प्रिमियर लिगमा बिताएका छन् । मेसीलाई क्लबमा भित्र्याउन सिटीले इच्छा देखाउनेमा कुनै शंका छैन । त्यसको मुख्य कारण भनेको सिटी प्रशिक्षक पेग ग्वार्डिओला र मेसीको राम्रो सम्बन्ध नै हो । साथै बार्सिलोनाका ब्याकरुम स्टाफ फेरान सोरानियो र टेसिकी बर्घिस्टान अहिले सिटीमा छन् ।

अर्कोे तथ्य बार्सिलोनाले मेसीका लागि तोक्ने रिलिज सर्त भेट्न सिटीलाई कुनै समस्या नहुन सक्छ । साथै ग्वार्डिओलालाई मेसीको खेल क्षमता राम्रोसँग थाहा छ । ग्वार्डिओला बार्सिलोनामा हँुदा टोलीले २ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर ग्वार्डिओला बाहिरिएपछि बाार्सिलोनाले सो सफलता भने पुनः भेट्टाउन सकेको छैन ।

म्यानचेस्टर युनाइटेड पनि मेसीलाई भित्र्याउन इच्छुक भएको खबर सार्वजनिक भइसकेको छ । प्रिमियर लिग विजेता लिभरपुलका साथै चेल्सी र आर्सनलले पनि मेसीलाई भित्र्याउन दाबेदारी दिन सक्छन् ।

युरोपियन ह्याबिवेट
साथै फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले पनि मेसीलाई भित्र्याउने दाबेदारी प्रस्तुत गर्न सक्छ । आर्थिक रूपमा बलियो पिएसजी च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा गर्न मेसीलाई भित्र्याउन इच्छुक बन्न सक्छ । पिएसजी आइतबार च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग निराश भएको थियो । प्रशिक्षक थोमस टचेलले पनि मेसी क्लबमा आउन चाहेमा स्वागत गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । यस्तो भएमा उनले बार्सिलोनाका पूर्व टोली सदस्य नेयमारसँग पुनः एकै टोलीबाट खेल्न पाउनेछन् । नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्वकीर्तिमानी रकममा पिएसजी भित्रिएका थिए ।

गत साता सेभियालाई युरोपा लिगको उपाधि सुम्पिएको इन्टर मिलान पनि मेसीका लागि आगामी गन्तब्य बन्न सक्छ । इन्टर सिरी ‘ए’ मा विगत नौ वर्षदेखि जारी युभेन्ट्सको दबदबा तोड्न चाहन्छ । त्यसैले इन्टर मेसीलाई भित्र्याउँदै सो लक्ष्य पूरा गर्न चाहन्छ । इन्टरका अध्यक्ष स्टेभन झाङले पनि पटकपटक मेसीका प्रतिनिधिसँग भेट भएको बताउँदै आएका छन् । मंगलबार विकसित घटनाक्रमले पनि मेसी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक एउटै लिगमा एकअर्काविरुद्ध खेल्ने सम्भावनालाई बल पुगेको छ ।  

घर फर्कने वा एसियाली लिगमा जाने ?
मेसीका लागि अर्जेन्टिना फर्कने र आफ्नै क्षेत्र रोसारियोकोे न्युवेलल्स ओल्ड ब्बाइबाट खेल्ने अर्को सुन्दर विकल्प बन्न सक्छ । मेसीले पनि पटकपटक व्यावसायिक खेल जीवन टुंग्याउनुअघि बाल्यकालको टोली न्युवेलल्स ओल्ड ब्बाइबाट खेल्न इच्छुक भएको बताउँदै आएका छन् । त्यस्तै एसियाली लिग पनि मेसीका लागि अर्को विकल्प बन्न सक्छ । उनको टोलीका पूर्वसदस्य जाभी र आन्द्रेस इनियस्टा क्रमशः कतारी र जे लिगमा गएका थिए । क्याम्प नोउमा लगातार खराब लयबाट गुज्रिएपछि उनीहरू एसियाली लिगप्रति आकर्षित भएका थिए । मेसी आफू अझै पनि उत्कृष्ट लयमा नै छन् । बार्सिलोनामा यस निराशाजनक सिजन बिताएका मेसी लयमै रहँदा पुनः एक पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छन् । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेको थियो ।

बार्सिलोनामै बस्ने  
यद्यपि मेसीका बार्सिलोना छोड्ने निर्णय सही हुन सक्छ र उनी बार्सिलोनामै रहिरहने सम्भावना पनि नकार्न सकिँदैन । मेसीले मंगलबार क्लब अध्यक्ष जोसेफ मारिया बार्टमेउलाई इमेलमार्फत बार्सिलोना छाड्न चाहेको कठिन निर्णय पठाएका थिए । पछिल्लो समय क्लब अध्यक्षसँगको सम्बन्धमा आएको खटपट यो घटनाले उजागर गरेको छ । साथै हालै मात्र क्लबमा भित्रिएका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि खेलाडीभन्दा क्लब माथि हुने भन्दै मेसीलाई पहिलाजस्तो प्राथमिकता नदिने संकेत गरेका थिए ।  

मेसीले बस्न नचाहेमा बार्टमेउ मेसीलाई क्लबमै राख्न कानुनी लडाइँमा पनि जान सक्छन् । बार्टमेउले मेसीका लागि रिलिज सर्त सात सय मिलियन युरो तोक्न सक्छन् र यसका लागि अदालतसम्म पनि जान सक्छन् । यस्तो अवस्था सिर्जना भएमा फुटबल समर्थकका लागि त्यो सबैभन्दा खराब क्षण बन्न सक्छ, मेसीले २०२०–२०२१ सिजनै गुमाउन सक्छन् । 
बिबिसी

प्रकाशित: ११ भाद्र २०७७ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App