अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले आइतबार समर्थकद्वारा आफूविरुद्ध गर्ने नाराबजीले थप उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहन मिलेको भन्दै इङ्ल्यान्डविरुद्धको आसन्न सीमित ओभरको शृंखलाका दौरान घरेलु समर्थकले आफ्नाविरुद्ध गर्ने नाराबाजी गुमाउने बताएका छन्।
बल टेम्परिङको घटनापछिको एक वर्षे प्रतिबन्धबाट गत सिजन अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका स्मिथलाई इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलादौरान इङ्लिस समर्थकले गिज्याउँदै मजाक उडाएका थिए।
तर स्मिथले पुनरामगनपछिको पहिलो टेस्टको दुवै इनिङमा शतक पूरा गरेका थिए भने शृंखलाका ४ टेस्टमा ११०.५७ को औसतमा ७ सय ७४ रन जोड्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका थिए।
‘मलाई त्यहाँ ब्याटिङ गर्न मन पर्छ, दुर्भाग्यवश यस पटक त्यहाँ समर्थकको उपस्थिति शून्य हुनेछ,’ स्मिथले भने, ‘त्यसैले मलाई उत्कृष्ट प्रदर्शन गर्ने हौसता नमिल्न सक्छ।अझै पनि हामीलाई टेलिभिजनमा भने धेरै समर्थकले हेर्नेछन् र लामो समयपछि क्रिकेटमा फर्कन पाउनु विशेष हुनेछ।’
अस्ट्रेलियाली टोली आइतबारै पर्थबाट इङ्ल्यान्ड प्रस्थान गर्नेछ। कोरोना भाइरस महामारीको त्रासका कारण अस्ट्रेलियाली २१ सदस्यीय टोली डर्बीमा क्वारेन्टिनमा बस्नेछ। तीन ट्वान्टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल सेप्टेम्बर ४ मा साउथह्याम्पटनमा हुनेछ। ती सबै खेल बन्द रंगशालामा हुनेछ।
साथै अस्ट्रेलियाले म्यानचेस्टरमा तीन एकदिवसीय शृंखला पनि खेल्नेछ।
‘म छिट्टै मैदानमा फर्कन आतुर छु, पक्कै पनि अब खेलको अवस्था फरक हुनेछ, भरिएको मैदान र समर्थकबिनाको मैदान,’ स्मिथले भने, ‘यो आफैंमा एउटा चुनौती हो तर पनि हामी यसका लागि तयार छाैं ।’
प्रकाशित: ८ भाद्र २०७७ ०१:०४ सोमबार