८ वैशाख २०८१ शनिबार
खेल

रंगशाला निर्माणबारे अध्ययन सुरु

नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्राविधिक पक्षको अध्ययन सुरु गरिएको छ।  रंगशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाउन नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले डिपिआर तयार गर्ने निर्णय गरेको छ। डिपिआर तयार गर्नुअघि रंगशालामा आवश्यक पर्ने पूर्वाधारका बारेमा अध्ययन सुरु गरिएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्ने भनिएको रंगशालाको प्राविधिक पक्षका बारेमा अध्ययन गर्ने जिम्मेवारी सुनीलसिंह हमालले पाएका छन्। हमाल राष्ट्रिय क्रिकेट टोली छनोट समितिका पूर्वप्रमुख एवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ अध्यक्ष हुन्।  

सुरुआतमा रंगशालाका लागि आवश्यक पर्ने कुराको अध्ययन गरेर डिपिआर निर्माणका लागि सार्वजनिक सूचनामार्फत कोटेसन आह्वान गरिने नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले बताइन्। उनले भनिन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि केकति पूर्वाधार चाहिन्छ, त्यो हामीलाई जानकारी नहुन सक्छ। यसका लागि प्राविधिक टोलीले अध्ययन गर्नुपर्छ। अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माणका लागि केके चाहिन्छ, त्यसका बारेमा अध्ययन भएपछि हामी डिपिआर तयारी गर्छांैं। अनि काम सुरु हुन्छ।’ नगरपालिकाले आगामी दुइ वर्षमा क्रिकेट खेल्ने मैदान तयार गर्ने लक्ष्य लिएको थापाले बताइन्।  

उनले थपिन, ‘क्रिकेट मैदान हाम्रा लागि गर्वको योजना हो। यसका लागि हामीले मिहिनेत गरिरहेका छांैं। डिपिआरका बारेमा अध्ययन सुरु भैरहँदा मैदानको चारैतिर पर्खाल लगाउने, माटो पटान गर्ने काम छिटै सुरु गर्ने योजना छ।’  

नेपालगन्ज उपमहानगरपालिकाले सुरुआतमा पर्खालको जग र माटो पटानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सुरुआती चरणमा क्रिकेट मैदान निर्माणका लागि २ करोड ५० लाख रकम खर्च हुँदै छ।  प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँमा माटो पटान र उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।  

घरेलु क्रिकेटमा नेपालगन्जलाई महिला क्रिकेटको उद्गम थलोका रूपमा मानिन्छ। तर मैदान अभावले यहाँको क्रिकेट स्तर पछिल्लो समय खस्कँदो अवस्थामा छ। प्रतियोगिता आयोजना गर्ने मैदान नहुँदा रंगशालानजिकै रहेको मंगलप्रसाद उच्च माविको मैदानमा निर्भर छ नेपालगन्जको क्रिकेट।  नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर–६ मा रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघा जमिनमा रंगशाला निर्माण गर्दै छ। 

प्रकाशित: ७ भाद्र २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App