१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेल खस्किँदा कसैले सोधेन

‘राष्ट्रिय टोलीबाट १६ वर्षमै गोल गरें। यो मेरा लागि खुसीको क्षण त हो नै देशका लागि पनि खुसी जोडिएको छ,’ विमल घर्तीमगरले दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई हारको मुखबाट जोगाएपछि दिएको अभिव्यक्ति थियो। त्यसपछि विमल एकाएक सेलिब्रेटी बने। अन्तर्राष्ट्रिय स्तरमा पनि विमलको नाम खुबै चर्चामा आयो। उनको क्षमताले राम्रै चर्चा पायो र केही युरोपियन राष्ट्रमा पनि ट्रायलको अवसर पाए।  

गाउँले दाजु राजेश बुढाथोकीको संगतबाट फुटबलमा नशा पसेको बताउने विमललाई नवलपरासीका स्थानीय प्रतियोगिताले मोहित बनाएको थियो ।  

‘गाउँकै राजेश दाइसँगै हिँडडुल गर्दा फुटबलमा मेरो ध्यान खिचियो। दाइहरूले खेल्ने खेलमा मलाई पनि समावेश गर्दै डो-याउनुभयो। मेरो प्रदर्शन राम्रो रह्यो,’ नवलपरासीका २२ वर्षीय विमलले भने, ‘पछि उहाँहरूकै पहलमा बुटवल एकेडेमीमा ट्रायल दिएँ, छनोट भएँ। त्यहींबाट मेरो फुटबल करियर सुरु भएको हो।’  

त्यति समयमा एन्फाका तीन एकेडेमी थिए। धरान, बुटवल र काठमाडौंमा। एन्फाले तीनै एकेडेमीबाट छनोट गरी एन्फा होस्टलमा राखेर प्रशिक्षण थाल्दा उनी उत्कृष्ट ठहरिएका थिए। यु–१४ मा त्यति बेला बालगोपाल महर्जनले उनीहरूलाई प्रशिक्षण दिँदा उनको टोलीले राम्रो नतिजा निकाल्दै गयो। यु–१६ का केही प्रतियोगितामा राम्रो नतिजा निकाल्दा उनको नाम थप चुलियो। यु–१६ मा नै हुँदा उनले राष्ट्रिय टोलीमा स्थान पाए। कलिलै उमेरमा राम्रो खेलेर परिचय बनाइसकेका विमल प्रतिभावान् खेलाडी भएको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।  

‘राम्रो हुँदा सबैबाट प्रशंसा पाएँ। तर खेल खस्किँदा कसैले पनि सुधारको पाटो देखाउनु भएन। मेरो खेल पहिलेजस्तो नभएकोमा सोधीखोजी भएन। पारिवारिक कारणले मेरो लय कठिन भयो। मोटिभेसन दिने कोही भएन।’

‘एन्फा एकेडेमीको उत्पादन विमल राम्रो सम्भावना बोकेको खेलाडी हो। उमेरसमूहमा राम्रो खेल्यो। सबैको प्रशंसा बटुल्यो। राष्ट्रिय टोलीमा पनि कलिलै उमेरमा स्थानमा पायो,’ युथ टोलीबाट विमललाई प्रशिक्षण गरेका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘पछिल्लो समय विविध कारणले गर्दा होला पुरानो लय देखिएको छैन।’

प्रशिक्षक महर्जनले भनेजस्तै विमलको खेल अपेक्षाअनुसार देखिएको छैन। केही कमीकमजोरीले गर्दा विमल आफैं आलोचित हुने गरेको प्रशिक्षक महर्जनले थपे।  

‘यु–१९ बाट क्लबहरूसँगको अनुबन्धपछि विमल स्वतन्त्र भयो। कहिलेकाहीं अनुशासनबाहिर जाँदा आलोचित पनि बन्यो,’ प्रशिक्षक महर्जनले थपे, ‘विमलजस्तो खेलाडी टोलीमा फर्किन अझै केही बिग्रिएको छैन। विगतका केही कमीकमजोरीलाई हटाउँदै मनोबल उच्च राखेर देशका लागि खेल्छु भन्ने संकल्प राखे लय फर्किन सक्छ।’  

विमल यति बेला गृहजिल्ला नवलपरासीमा छन्। राष्ट्रिय टोलीलाई कतार विश्वकप छनोटको खेलका लागि अभ्यासमा बोलाउँदा विमल भने टोलीमा फर्किएका छैनन्। कुवेतसँगको पहिलो लेग र चाइनिज ताइपेईसँगको खेलमा टोलीमा समावेश थिए। पूर्वाधार पूरा नभएका कारण दशरथ रंगशालामा नहुने निश्चित भएपछि नेपालले पहिलो होम गेम भुटानमा खेल्नुपरेको थियो। कुवेतसँग खेल हुनुभन्दा अघिल्लो दिन होस्टेलबाट बाहिरिएको भन्दै कारबाही भोगेयता विमल टोलीमा फर्किएका छैनन्। उनीसँग दिनेश राजवंशी र सन्तोष तामाङलाई पनि राष्ट्रिय टोलीमा स्थान दिइएको छैन। तर उनीहरूसँगै मुछिएका अन्जन विष्ट भने टोलीमा समावेश भइसकेका छन्। गल्तीको कारबाही भोगिसकेपछि टोलीमा फर्किन नपाउँदा उनी दुखी छन्।  

‘मैले तोकेको कारबाही भोगिसकेको छु। गल्तीको सजायलाई स्वीकार पनि गरेँ,’ नेपालमा नै भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका विमलले भने, ‘टोलीमा फर्किन नपाउँदा दुःख लागेको छ। किन नबोलाउनुभएको मैले केही कारण बुझेको छैन।’

चम्किँदाको समयभन्दा पछिल्लो समय आफ्नो खेल सोचेजस्तो नभएको उनी आफैं स्वीकार गर्छन्। ‘राम्रो हुँदा सबैबाट प्रशंसा पाएँ। तर खेल खस्किँदा कसैले पनि सुधारको पाटो देखाउनु भएन,’ राष्ट्रिय टोलीबाट ८ गोल गरेका विमलले थपे, ‘मेरो खेल पहिलेजस्तो नभएकोमा सोधीखोजी भएन। पारिवारिक कारणले मेरो लयलाई कठिन भयो। मोटिभेसन दिने कोही भएन।’

२०१२ देखि राष्ट्रिय टोलीका सदस्य रहेका विमलको टोलीले नेपालमा सम्पन्न साफ यु–१६ उपाधि उचालेको थियो। तर अहिले विमलको खेल पहिलाभन्दा कमजोर भएको उनी आफैं स्वीकार गर्छन्। यद्यपि आफ्नो खेललाई सुधार गर्दै टोलीमा फर्किनेमा उनी आशावादी छन्।  

‘पहिलेको भन्दा फिटनेसमा कमी आएको पक्कै हो। पारिवारिक कारणले मैले खेलमा राम्रो लगाब दिन सकिनँ,’ राष्ट्रिय टोलीबाट ३५ क्याप खेलेका विमलले थपे, ‘जीवन नै फुटबललाई अर्पण गरेको छु। राष्ट्रका लागि खेल्दै नतिजा दिलाउने मेरो लक्ष्य निरन्तर छ। पाएको अवसरलाई सदुपयोग गर्न सक्छु भन्ने संकल्प राखेको छु। आउँदा दिनमा राम्रो हुने अपेक्षा पनि लिएको छु।’

विमलका समकक्षीले पनि पारिवारिक तनावले विमलले पुरानो लय लिन नसकेको मूल्यांकन गर्दछन्।

प्रकाशित: २९ श्रावण २०७७ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App