१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्क्वासका प्रमुख प्रशिक्षकलाई कोरोना

नेपाली राष्ट्रिय स्क्वास टोलीका प्रमुख प्रशिक्षक हीराबहादुर थापा कोरोना संक्रमित भएका छन्।    

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली टोलीका प्रशिक्षकसमेत रहेका थापालाई आइतबार कोरोना पुष्टि भएको हो। यससँगै नेपाली खेलाडी एवम् प्रशिक्षकमा पहिलो पटक कोरोना संक्रमण भेटिएको छ। नेपाल स्क्वास -याकेट संघका उपाध्यक्ष मनोजबहादुर श्रेष्ठलाई गत बिहीबार कोरोना पुष्टि भएपछि प्रशिक्षक थापाले पनि शनिबार मात्र स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए। मनोजबहादुर सातदोबाटोस्थित नेपाल स्क्वास संघको केन्द्रीय प्रशिक्षण केन्द्रमा दैनिक अभ्यासका लागि आउने गर्थे। मनोजलाई कोरोना पुष्टि भएसँगै प्रशिक्षण केन्द्रमा संलग्न सबै प्रशिक्षक र खेलाडीको पनि कोरोना परीक्षण गरिएको थियो।

त्यसलगत्तै अन्यको रिपोर्ट नेगेटिभ आए पनि प्रशिक्षक थापालाई भने कोरोना संक्रमण पुष्टि भएको हो। ‘यहीं खेल्ने मनोजबहादुर श्रेष्ठको रिपोर्ट पोजिटिभ देखिएसँगै यहाँ आउने गरेका सबैले परीक्षण गरेका थिए। ममा कुनै लक्षण देखिएको थिएन, तर आज स्वास्थ्य मन्त्रालयबाट कोरोना पोजेटिभको खबर आएको थियो। अन्यको रिपोर्ट हिजै आइसकेको थियो, उहाँहरू ठीक हुनुहुन्छ,’ १७ वर्षसम्म लगातार राष्ट्रिय च्याम्पियन बनेका हीराबहादुरले भने, ‘म यहीं (सातदोबाटो) स्क्वास भवनको क्वारेन्टिनमा बसेको छु। मेरो स्वास्थ ठीकै छ। कुनै चिन्ता लिनुपर्ने अवस्था छैन।’

उनले प्रशिक्षण केन्द्र आउने सबैलाई नै कोरोना परीक्षण गर्न सल्लाह दिइसकेको समेत बताएका छन्। सन् १९९४ देखि २०११ सम्म राष्ट्रिय च्याम्पियन हीराबहादुरले नवौं सागमा कांस्य पदक जितेका थिए। उनका छोरी कृष्णा थापा र अमृत थापा दुवै राष्ट्रिय टोलीका समेत सदस्य हुन्।

प्रकाशित: २६ श्रावण २०७७ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App