६ आश्विन २०७७ मंगलबार
खेल

खेलाडीमा चोट, समस्या कि असावधानी ?

अन्तर्राष्ट्रिय खेलाडीको चोट सर्वत्र चासोको विषय बन्नु स्वाभाविक हो। एउटा खेलाडी घाइते हुँदा  पूरा टिम त्यसबाट प्रभावित भइरहेको हुन्छ। टिम प्रभावित हुँदा हजारौं, लाखौं समर्थकको भावनामा पनि असर परिरहेको हुन्छ। खेल र खेलाडीसँग जोडिने महत्वपूर्ण पक्ष फिटनेससम्बन्धी समस्या पछिल्लो समय बढ्ने क्रममा छ। अपेक्षा गरिएका चर्चित खेलाडी  पनि यसबाट अछुतो छैनन्। खासमा कसरी समस्या हुन्छ ? त्यसबाट बच्न सकिने उपायहरू के हुन् ? समस्या भइसकेपछि चाँडोभन्दा चाँडो कसरी निको भएर पुनरागमन जनाउने भन्ने कुरा खेलकुदमा महत्वपूर्ण छ। नेपाली खेलकुदमा पनि यो समस्या देखिन थालेको छ।  

गत वर्षको पुस १० गते सम्पन्न पाँचाैं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलका क्रममा घाइते भएकी प्रतिभा माली अहिले अर्थोप्लास्ट धाइरहेकी छिन्। महिला भलिबल हुँदा समर्थकको वाह–वाह बटुल्ने प्रतिभा छिट्टै कोर्टमा फर्किनेमा विश्वस्त छिन्। धेरैलाई लकडाउनले असर पारे पनि प्रतिभालाई फिटनेसमा कमब्याक गर्न लकडाउनको समय फलदायी भएको छ।  

‘क्रमिक सुधार भइरहेको छ। नियमित थेरापीले मैदान फर्किन सक्छु भन्ने मनोबल बढ्दै गएको छ,’ नेपाली महिला भलिबलकी स्पाइकर प्रतिभाले भनिन्, ‘कोरोना महामारी नभएको अवस्थामा भलिबल गतिविधि हुन्थे। अरू खेलाडी खेल्दा खेलको प्यास लाग्थ्यो। तर कोरोनले गर्दा केही गतिविधि भएन। मेरा लागि फाइदा भयो।’

अर्थोप्लास्ट रिह्याब सेन्टरमा स्पाइकर प्रतिभासँगै न्यु डायमन्डकी कप्तान ललिता नाथ, पनमिका राईले पनि थेरापी गराइरहेका छन्। यस्तै फुटबलका विराज महर्जन, विकेश कुथु, बास्केटबलकी सविता खड्का र सविता लुइटेलले पनि थेरापीमा छन्। महिला बास्केटबलका सविता खड्का पनि प्रतिभाको जस्तो घुँडाको शल्यक्रियापछि अर्थोप्लास्टमा पुग्ने गरेकी छिन्। विराज र विकेश भने ढाडको समस्या निराकरण गर्न अर्थोप्लास्ट रिह्याब सेन्टरमा गइरहेका छन्।  

‘नेपालजस्तो देशमा धेरै खेलाडी आरामबिना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेबित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराब अवस्थालगायत कारणले बढी घाइते हुन्छन्।’

शल्यक्रिया गरिएका कुनै पनि खेलाडीलाई  खेलमा फर्काउन ९ देखि १२ महिना लाग्ने भएकाले भलिबल स्पाइकर प्रतिभाको थेरापी सन्तोषजनक भएको खेलकुद पुनस्र्थापना केन्द्रका मेडिकल निर्देशक सुरज भुसालले बताए।

‘अहिले १० जना खेलाडी यहाँ अनुबन्धित छन्। उनीहरूको उपचारलाई मैले गम्भीर रूपमा नियाल्दै छिटोभन्दा छिटो खेलमा फर्काउने लक्ष्य राखेको छु,’ खेलकुद पुनस्र्थापना विभागका इन्चार्जसमेत रहेका भुसालले भने, ‘पछिल्लो समय नेपालमा पनि खेलाडीमा चोट बढ्दै गएको छ। विभिन्न खेलका खेलाडीको चाप बढेकाले छुट्टै ‘स्पोर्ट्स इन्जुरी रिकभरी सेन्टर’ सञ्चालनमा ल्याउने तयारीमा छौं।’

कुनै पनि खेलाडीले खेलअघि सामान्य वार्मअप मात्र गरे पनि धेरै खाले चोटका समस्याबाट टाढै राख्न सकिन्छ। शरीर र खेलको प्रकृतिअनुसार सन्तुलित आहार लिनुपर्ने नेपाली क्रिकेटका फिजियो विक्रम न्यौपाने बताउँछन्। कहिलेकाहीं मौसम पनि चोटको कारण बन्ने उनको तर्क छ।  

‘नेपालजस्तो देशमा धेरै खेलाडी आरामबिना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेबित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराब अवस्थालगायत कारणले बढी घाइते हुन्छन्’ न्यौपानले भने, ‘त्यसैले खेलभन्दा अगाडि प्रशिक्षक र फिजियोथेरापिस्टको प्रत्यक्ष निर्देशनमा आवश्यक वार्मअप र स्ट्रेचिङ गर्नुपर्छ।’

फिजियोको निगरानीमा गरिने उपचारले खेलाडीलाई चाँडोभन्दा चाँडो मैदान फर्काउन सहयोग पुग्छ। कहिलेकाहीं मौसमले पनि खेलाडीको फिटनेसमा असर देखिन्छ भने कहिलेकाहीँ असन्तुलित आहार स्वास्थ्य समस्याका कारण हुने न्यौपानेको अनुभव छ। त्यस्तो अवस्थामा खेलाडी आफैंले सचेत भएर खानपिन र जीवनशैली अनुशासित बनाउनुपर्ने फिजियो न्यौपानेले बताए।  

‘खेल र अभ्यासमा शरीरका मांसपेशीहरू थाकेका हुन्छन्। तिनलाई पुरानै अवस्थामा फर्काउन निश्चित आरामको आवश्यकता पर्छ,’ न्यौपानेले थपे ‘खेलपूर्व ओभर वर्कआउट गर्नु पनि कुनै बेला हानिकारक हुन्छ। शरीरले थेग्नेभन्दा धेरै ट्रेनिङ गरेको बेला खेलाडी घाइते हुने सम्भावना अत्यन्त रहन्छ।’

फुटबलको हकमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि एउटा खेल खेलेपछि अर्काे खेल खेल्नुअघि कम्तीमा ४८ घन्टा आराम गर्नुपर्ने मान्यता राखेको छ। घाइते हुनु भनेको खेलजीवनको समाप्ति होइन। चोटपछि पनि सही उपचारबाट गम्भीर चोटलाई जित्दै खेलाडीहरू पुरानै अवस्थामा मैदान फर्किएका थुप्रै उदाहरण छन्। मोफसलको टुर्नामेन्ट बुढासुब्बा खेल्दा राष्ट्रिय टोलीका रक्षक तथा थ्री स्टारका विक्रम लामा सफल शल्यक्रियापछि अहिले मैदान फर्किन सफल भएका छन्। उनको प्रभावशाली प्रदर्शनबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारले राम्रो खेल देखाउन सक्यो भने केही मोफसलका प्रतियोगितामा उपाधि पनि उचालेको छ। चोटपछिको राम्रो उपचारमा कुनै सम्झौता नभएकाले खेलमा फर्किन सफल भएको विक्रम लामाले बताए।  

‘उपचार राम्रो भयो। चर्चित र अनुभवी थेरापिस्टले पहिलेको अवस्थामा फर्काउन निकै मिहिनेत पनि गर्नुभयो,’ राष्ट्रिय टोलीका रक्षक विक्रमले भने, ‘सबैको साथ, आशीर्वाद र शुभेक्षाले मैदान फर्किन सफल भएँ।’

क्रिकेटका फिजियो विक्रम न्यौपानेको तर्कजस्तै चोटलाई जितेर मैदान फर्किन फुटबलर विक्रमले खानपान र मनोबलले खेलमा फर्किन सम्भव भएको स्वीकार गरे। ‘कुनै पनि खेलाडीले चोट बोकिसकेपछि फर्किन निकै कठिन हुन्छ। व्यक्तिगत रूपमा अनुशासन पालन नगरे सम्भव पनि हुँदैन,’ फुटबलर विक्रमले थपे, ‘खानपान र आत्मबल सबैलाई परास्त गर्ने विषय हो। अनुशासित खानपान भए समस्या पार गर्न निकै सहज हुँदो रहेछ। अनि आत्मबलले पनि उत्तिकै भूमिक खेल्यो। किनभने सबै दर्शक, शुभेक्षुक र सञ्चार माध्यमले हौसला प्रदान गरे।’

अर्का स्टार फुटबलर रोहित चन्द पनि सन् २०१५ मा मलेसियन क्लबबाट खेल्दा घाइते भएका थिए। घाइते हुँदाहुँदै खेल्दा उनको खुट्टाले गम्भीर रूप लिएको थियो। चिकित्सकको सल्लाहमा तत्काल क्वालालम्परको एक अस्पतालमा उनको शल्यक्रिया भएको ११ महिनापछि मैदान फर्किएर लय फक्रिन सफल भए।  उपचारपछिको थेरापी,  व्यक्तिगत अनुशासन  पालना र मनोबल खेलमा फर्किन बलियो आधार थियो।

खेलाडीका लागि मात्र अहिलेको अवस्थामा नेपालमा छुट्टै खेलकुद पुनस्र्थापन संस्था छैन। रोहितले विदेशमा उपचार गराएर मनोबल बटुल्दा उनी स्वाभाविक खेलमा फर्किए। नेपालमै घाइते भएको भए उनको वैज्ञानिक उपचार यहाँ सम्भव थिएन। किनकि नेपालमा अहिले स्पोर्ट्स मेडिसिन बामे सर्दै गरेको अवस्थामा छ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसान्धान केन्द्र स्पोर्ट्स मेडिसिनको विषयमा काम गर्ने एक मात्र सरकारी संस्था हो।  

सातदोबाटोमा सबैका लागि अर्थोप्लास्ट सेन्टर सञ्चालन गरिरहेका निर्देशक सुरज भुसालले खेलाडीको चाप बढ्दै गएकाले नितान्त खेलाडीका लागि मात्र नयाँ संस्थाको परिकल्पना भएको दाबी गरे।  

‘पछिल्लो समय खेलाडीमा भएको समस्या हल भएपछि उनीहरूको सल्लाह र सुझावबाट छुट्टै संस्था भदौ पहिलो साताबाट निर्माण गर्ने तयारी गरिसकेका छौं। कात्तिक अन्तिम साता सञ्चालन गर्ने लक्ष्य लिएका छौं,’ निर्देशक भुसालले भने, ‘सम्झौता भइसकेको छ। ‘अर्थोप्लास्ट स्पोर्ट्स इन्जुरी रिह्याबिलिटेसन एन्ड रिकभरी युनिट’ नामको नयाँ संस्था स्थापना हुनेछ। जुन संस्थामा नितान्त खेलाडीले पुनस्र्थापनाका लागि आबद्ध हुनेछन्।’

यति बेला धेरै जसो खेलाडी घरमै रहेका छन्। विश्वभर फैलिएको कोरोनाका कारण खेलाडी घरको कम्पाउन्डमा समेटिएका छन्। दैनिक कडा मिहिनेत र प्रशिक्षण गर्ने खेलाडीका लागि लामो समय यत्तिकै बस्नु पक्कै पनि शारीरिक र मानसिक रूपमा कठिन हो। तथापि धेरैजसो खेलाडी खेलबाट टाढा रहे पनि नियमित अभ्यास गर्दै अनुशासनलाई पालना गरिरहेका छन्।  महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर रहेकाले नेपाललगायत धेरै देशमा अझै पनि खेलकुद गतिविधि स्वच्छन्द तरिकाबाट फर्किन सकेका छैनन्। एसियन राष्ट्र कोरिया र युरोपका ठूलो व्यावसायिक फुटबल जर्मनको बुन्डेसलिगा, स्पेनको ला लिगा, इटालीको सिरी ‘ए’ र इङ्लिस प्रिमियर लिगजस्ता खेलले पूर्णता पाइसकेका छन्।  

नेपालमा पनि केही साताअघिदेखि त्रिपुरेश्वरको कभर्डहलमा ब्याडमिन्टनको राष्ट्रिय टोलीसहितको प्रशिक्षण सुरु भइसकेको छ। भदौ पहिलो साता अभ्यास गर्ने लक्ष्यसहित फुटबलले पनि तयारी गरिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य प्रोटोकल अपनाएर नेपाली खेलाडी प्रशिक्षणमा फर्किन थालेका छन्।

प्रकाशित: २० श्रावण २०७७ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App