१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अझै एउटै अन्तर्राष्ट्रिय मैदानको भर

नेपाली क्रिकेट

नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको कीर्तिपुर मैदान नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदान हो। यही मैदानको अनुभवबाट नेपालले विश्वकप ट्वान्टी–२० सम्मको यात्रा तय गरिसकेको छ। विभिन्न डिभिजन लिगका खेल हुँदै एकदिवसीय खेलको मान्यता प्राप्त गर्न यो मैदान क्रिकेट खेलाडीका लागि कर्मभूमि बनेको छ। युवा लेग स्पिनर सन्दीप लामिछाने यसै मैदानबाट निखारिँदै विश्वमा प्रभावशाली बलरको छाप छोडिरहेका छन्। त्रिवि मैदानका उत्पादन पारस खड्का, करण केसी, सोमपाल कामीजस्ता खेलाडीलाई विश्वमा हुने चर्चित फ्रेन्चाइज लिगको अक्सनमा समावेश गर्दा नेपाली खेलाडीकोे ओज बढिरहेको छ। पछिल्लो समयमा नेपाली क्रिकेटले जसरी फड्को मा¥यो सोही हिसाबमा कीर्तिपुर मैदानले फड्को मार्न सकेको छैन। मैदानले अन्तर्राष्ट्रिय मान्यता पाए पनि पूर्वाधार अझै अपुग रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले स्वीकार गरे।  

‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय मैदानले मान्यता पाए पनि केही पूर्वाधार अपुग छन्,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘ड्रेसिङ रुम, अभ्यास स्थलमा अझै वर्कआउट गर्न बाँकी छ। जुन अहिले छन् त्यसलाई अझै परिष्कृत गर्न बाँकी छ।’

नयाँ पूर्वाधार निर्माणलाई क्यानसँग बजेट नभएकाले जुटाएपछि मात्र काम अगाडि बढाउने अध्यक्ष चन्दले बताए। ‘अहिले क्यानसँग बजेट छैन। आइसिसीबाट मैदानको मर्मतसम्भार र कर्मचारीका लागि मात्र पैसा आएको छ,’ अध्यक्ष चन्दले थपे, ‘नयाँ पूर्वाधारलाई आइसिसीले रकम छुट्ट्याएको छैन। सरकारसँग पहल गरेर पूर्वाधार बनाऊ भनेको छ। तर महामारीका कारण देश नै संकटमा छ। नगरपालिका र सहयोगी संघसंस्थाबाट रकम जुटाएर काम गर्ने सोच बनाएका छौं।’

पछिल्लो समयमा नेपाली क्रिकेटले जसरी फड्को मा-यो सोही हिसाबमा कीर्तिपुर मैदानले फड्को मार्न सकेको छैन। मैदानले अन्तर्राष्ट्रिय मान्यता पाए पनि पूर्वाधार अझै अपुग छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको करिब डेढ वर्षपछि नेपालको घरेलु मैदानमा  पहिलो पटक २०७६ माघ २२ गते खेल भएको थियो। त्यो ओमानविरुद्ध नेपालको घरेलु मैदानमा पहिलो एकदिवसीय खेल थियो। त्रिवि मैदान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वको २ सय नवौं मैदान हो। पछिल्लो समय नेपालमा फ्रेन्चाइज लिगदेखि ट्वान्टी प्रतियोगिताका तालिका बढ्ने क्रममा छन्। सबैको रोजाइ त्रिवि मैदान नै हुन्छ। वर्षौंदेखि कीर्तिपुरस्थित त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन कीर्तिपुरको मात्रै भर पर्ने बाध्यता हट्ने अध्यक्ष चन्दले बताए।  

‘मूलपानीको माथिल्लो मैदानमा घरेलु प्रतियोगिता गर्ने गरी तयारी गरिरहेका छौं। मूलपानीको तल्लो मैदानमा भएको जग्गा विवाद समाधान गरेर राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गर्न आग्रह गरेका छौं,’ अध्यक्ष चन्दले भने, ‘परिषद्बाट हस्तान्तरण गरे हामीले नै पिचको काम अगाडि बढाउँछौं भनेका छौं। सरकारबाट काम भइरहेको छ। छिट्टै पाउनेमा आशावादी छौं।’

बजेट भाषणले त्रिवि क्रिकेट मैदान कीर्तिपुरलाई आर्थिक वर्ष २०७७/७८ का लागि सम्बोधन गरेको छ । इन्डोर कार्पेट, स्कोरबोर्ड, फिटनेस इक्युपमेन्ट, भिआइपी, डिप बोरिङ आदि निर्माणका लागि बजेटमा ४० लाख रुपैयाँ परेको छ ।

प्रकाशित: १९ श्रावण २०७७ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App