२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयप्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले राखेप सदस्यसचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयप्रति कारण देखाऊ आदेश जारी गरेको हो । सिन्धुलीका तेक्वान्दो प्रशिक्षक टीकादत्त दाहालले आवेदनका लागि दरखास्त प्रक्रिया सार्वजनिक सूचनामार्फत् नगराई सूचनाको हकबाट वञ्चित गराएको उल्लेख गर्दै दायरको रिटप्रति सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । सदस्यसचिवका आकांक्षी दाहालले सदस्यसचिवको नियुक्ति प्रक्रिया संविधानको समानताको हकविपरीत सूचनाबाट वञ्चित गराएर अघि बढाइएकाले गत साउन ८ गते नै सर्वोच्चमा युवा तथा खेलकुद मन्त्रालय, राखेप र सिफारिस समितिलाई विपक्ष बनाई मुद्दा दर्ता गरेका थिए ।  

सोही रिटप्रति अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,  युवा तथा खेलकुद मन्त्रालय, राखेप र सदस्यसचिव सिफारिस समितिलाई आदेश जारी गरेको हो । अधिवक्ता धनबहादुर श्रेष्ठले मानिसले थाहा नपाउने गरी मन्त्रालयले वेबसाइटमा सातदिने सार्वजनिक सूचना प्रकाशित नगरेकाले सदस्यसचिवका लागि योग्य भए पनि सूचना थाहा नपाएकाले उक्त अवसरबाट वञ्चित भएकाले टीकादत्त दाहालले मुद्दा दायर गरेको बताए ।  

‘सिफारिस समितिकै कार्यविधिको दफा चारको एकमा स्पष्ट उल्लेख भएअनुसार समितिबाटै सूचना प्रकाशित नभएको, कार्यविधिकै विपरीत मन्त्रालयको लटेरप्याटमा सूचना जारी गरिनु र र राज्यको काम पारदर्शी नभएको दाबीसहित उहाँले (दाहाल)ले रिट दायर गर्नुभएको हो,’ अधिवक्ता श्रेष्ठले भने । राखेप सदस्यसचिव पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लीलबहादुर थापामगर, नेपाल प्रहरीका पूर्वएआइजिपी रणबहादुर चन्ददेखि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित कुल २७ जनाले आवेदन दिएका दिए ।  

त्यसका लागि मन्त्रालयले मन्त्रालयकै सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासम्मिलित छनोट समिति गठन गरेको थियो । सोही समितिले पहिलो दिन नै छनोट कार्यविधि तयार पार्दा मन्त्रालयले राखेप सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको थियो । समितिले रमेश सिलवाल, अन्जु श्रेष्ठ र लीलबहादुर थापामगरको नाम मन्त्रालयमा सिफारिस गरेको थियो र सोही नाम मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेपछि सिलवाल नै सदस्यसचिव पदमा दोहोरिएका थिए । 

प्रकाशित: १४ श्रावण २०७७ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App