८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सदस्यचिवमा सिलवालसहित तीन नाम सिफारिस

रमेशकुमार सिलवाल, लीलबहादुर थापामगर र अञ्जु श्रेष्ठ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि तीन व्यक्तिको नाम बुधबार युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरिएको छ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको राखेप सदस्यसचिव सिफारिस समितिले बुधबार नेपाली राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापामगर र राखेपकै निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालको नाम सिफारिस गरेको हो। मन्त्रालयले गत असार २६ गते थपलियाको संयोजकत्वमा राखेपअन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक रिम रानाभाट र राखेप बोर्डकी पूर्वसदस्य इन्दिरा निरौला सम्मिलित सदस्यसचिव सिफारिस समिति गठन गरेको थियो र सोही दिन नै कार्यविधि तयार पार्दै सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको थियो।

एक साता समयावधि राखिएको दरखास्त आह्वानमा कुल २७ जना व्यक्तिले दाबेदारी प्रस्तुत गरेका थिए। राखेपको सदस्यसचिव पदका लागि नेकपाका केन्द्रीय सदस्य थापामगर, पूर्वएआइजिपी रणबहादुर चन्ददेखि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले दाबेदारी प्रस्तुत गरेका हुन्। जसमध्येबाट सदस्यसचिव सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो। मन्त्रालयमा अल्फाबेटका आधारमा पहिलो नम्बरमा राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ, दोस्रोमा लीलबहादुर थापामगर र तेस्रोमा रमेशकुमार सिलवालको नाम सिफारिस गरिएको सदस्यसचिव छनोट समितिले जनाएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

मन्त्रालयले उक्त तीन सदस्यको नाम आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्नेछ र मन्त्रिपरिषद्बाट आगामी चार वर्षका लागि एक व्यक्ति सदस्यसचिवका रूपमा चयन हुनेछन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्। ‘नीति र प्रक्रियाअनुसार नै काम अगाडि बढेकाले तीन जनाको नाम सिफारिस भइसकेको छ। अबको अधिकार मन्त्रिपरिषद्लाई छ, त्यहाँबाट नै सदस्यसचिव छनोट हुनेछ,’ मन्त्री विश्वकर्माले भने।    त्यससँगै पहिलोपटक खुला प्रतिस्पर्धाबाट नेपाली खेलकुदको कार्यकारी पदका लागि नेतृत्व छनोट हुनेछ।  

वि.सं. २०१७ सालमा राष्ट्रिय खेलकुद परिषद् गठन भएको थियो, जसमा होराप्रसाद जोशी पहिलो सदस्यसचिव थिए। त्यस समयदेखि निवर्तमान सदस्यसचिव सिलवालसम्म सिफारिसकै आधारमा नेपाली खेलकुदको नेतृत्व चयन भएका थिए। पहिलो पटक योग्यता र क्षमताका आधारमा राखेपको नेतृत्व चयनको मापदण्ड बनाइए पनि राजनीतिको छायाबाटै सदस्यसचिव नियुक्त हुने पक्का नै छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाई नै सदस्यसचिवका रूपमा दोहो¥याउने संकेत गरिसकेका छन्।  

अन्य दाबेदारका लागि बालुवाटार पुगेका नेकपाकै नेतालाई प्रधानमन्त्री ओलीले सिलवाललाई नै दोहो-याउने धारणा राखेको नेकपाका एक युवा नेताले जानकारी दिए। तथापि नयाँ ऐनअनुसार राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ।

प्रकाशित: ८ श्रावण २०७७ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App