२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सात महिनादेखि रोकियो ट्रेल रेस

पोखरामा आयोजित ट्रेल रेसमा सहभागी धावक। फाइल तस्बिर/नागरिक

पोखरा र आसपासमा धेरै ट्रेल (गोरेटो) छन्। ती गोरेटो केही प्रचलनमा छन्। केही प्रचलनमै छैनन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियान पोखराकै युवा समूहले गर्दै आएको छ। समूहले ट्रेल रेस सिरिजको नाम दिँदै संरक्षण र प्रवद्र्धन अभियानमा आफ्नो पाइलालाई बर्सेनि चलाउँदै आएको छ।

चैतको अन्तिम साता आयोजनासहित  ट्रेल रेस रोकिँदा धावकहरूको गोडा एक्कासि रोकियो। उकाली–ओराली ग्रामीण गोरेटोमा दौडिँदै रेस पर्यटन प्रवद्र्धन गर्नमा जुट्दै आएको थियो। ‘नेपाली मौलिक  ट्रेललाई पर्यटनसँग जोड्ने अभियानअन्तर्गत बर्सेनि ट्रेल रेस गर्दै आएका छौं,’ सिरिजका अध्यक्ष विकास गुरुङले भने, ‘कोभिड–१९ सँगै सुरु भएको लडकडाउनले सबै खेलकुद गतिविधि ठप्पै छ। रेस पनि रोकिएको छ। धावकका गोडा पनि रोकिएका छन्।’ रेस आफैंमा सकसपूर्ण छ। ७ महिना रोकियो।

ट्रेल रेसप्रतिको चासो अहिले बढ्दै गएको छ। स्थानीय युवाको सक्रियता छ। त्यति मात्रै नभई काठमाडौंको ट्रेल रेस सिरिजले पनि पोखरामा रेस गर्न आवश्यक अध्ययनसहित तयारी गरेको उनी बताउँछन्। ‘हामीले मात्रै होइन, काठमाडौंको टोलीले समेत रेस गर्न अध्ययन गरिरहेको छ,’ उनले भने, ‘जुन ट्रेलमा हामीले दौडायौं, त्यसैमा उनीहरूले दौडाउने योजना छ। लकडाउन सकिएपछि सायद काठमाडौंको टिम पोखरा आइपुग्छ।’  

२०७४ सालमा पोखरा ट्रेल रेस सिरिजको स्थापना भएको हो। संस्थाले दुई वर्षमा ५ वटा रेस गरिसक्यो। रेस सबै आफ्नै बलबुतामा। आर्थिक सहयोग स्वयंसेवक तथा शुभचिन्तकबाट जुटाउँदै पाँचवटा रेस गरिएको अध्यक्ष गुरुङले बताए। ‘सुरुमा काहुँ रेस (१३ किमी) आयोजना ग-यौं,’ उनले भने। त्यसपछि रानीबन रेस (२० किमी), सराङकोट–मेथ्लाङ रेस (२५ किमी), पन्चासे रेस (५५ किमी) र धान रेस (७ किमी) आयोजना गरिएको उनले जानकारी दिए।  

दौडमा स्वदेशी मात्रै नभई विदेशी धावकले चासो दिएका थिए। तर अहिले विषम परिस्थितिकै कारण आउन चाहे पनि रोकिन पुगे। लकडाउन खुलेपछि ५५ किमीको पन्चासे रेस सुरु गर्ने योजना रहेको उनले सुनाए। नयाँ रुटको रूपमा निर्मलपोखरी दौडाउने अवधारणा अघि सारेका छन्। ‘ताल टु तालको अवधारणासमेत बनाइएको छ,’ उनले भने, ‘यसले नयाँ  पर्यटन पदयात्राको खाका कोर्नेछ।’ 

प्रकाशित: २ श्रावण २०७७ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App