२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

२६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता विराटनगरमा हुने, १७० खेलाडी मैदानमा

२६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता विराटनगरमा हुने भएको छ। बुधबार विराटनगरमा मोरङ जिल्ला आइटिएफ तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रिय प्रतियोगिताबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संघका अध्यक्ष ओमकुमार श्रेष्ठले मोरङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते विराटनगरमा राष्ट्रिय प्रतियोगिता हुन लागेको जानकारी दिए। उनले प्रतियोगिताको व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र भइरहेको बताए।

सो अवसरमा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीले प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागीय टोलीका खेलाडीको सहभागिता हुने जानकारी दिए। उनले प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी १७० जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताए।

प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। एकल स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ५१ किलो तौल समूहदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४५ देखि ७६ किलोभन्दा माथिसम्मका तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ग्रुप प्याटन र सेल्फ डिफेन्समा समेत पुरुष तथा महिला खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिने बताउँदै अध्यक्ष कार्कीले भने, ‘छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउने छन्।’

प्रकाशित: २१ आश्विन २०८३ २१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App