coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माटिच २०२३ सम्म युनाइटेडमा

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर नेमान्जा माटिचसँगको सम्झौता सन् २०२३ जुनसम्मका लागि नवीकरण गरेको छ।

सन् २०१७ मा चेल्सीबाट युनाइटेडमा अनुबन्धित ३१ वर्षे माटिचले क्लबका लागि १ सय १४ खेल खेलिसकेका छन्। सर्बियन मिडफिल्डर माटिच अहिले पनि टोलीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वासिलो खेलाडी हुन्।  

‘क्लबसँगको सम्झौता नवीकरणमा म खुसी छु। आउँदा दिनमा पनि क्लबबाट खेल्न पाउँदा खुसी पनि लागेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा माटिचले भनेका छन्, ‘खेलाडीको नाताले जीवनमा अझै राम्रो खेल प्रदर्शन गर्र्नेछु र अवसर दिएको क्लबलाई यादगार योगदान पनि दिन चाहन्छु।’

‘मेरो लागि युनाइटेड खुला किताब हो र क्लबको हिस्सा हुन पाउँदा निकै खुसी पनि छु। यद्यपि, क्लबमा युवा र पुराना खेलाडीबीच तालमेलको अभाव छ। मिलाएर अगाडि बढाउन क्लब सक्षम छ,’ माटिचले थपे। युनाइेटडका प्रशिक्षक ओले गनर सोल्सजायरले माटिच एक अनुभवी, व्यावसायिक र कठिन अवस्थामा पनि नेतृत्व सम्हाल्न सक्ने क्षमता भएका खेलाडी भएको प्रतिक्रिया दिए।  

‘मिडफिल्डर माटिचसँगको सम्झौता क्लबको हितमा छ,’ प्रशिक्षक सोल्सजायरले भने, ‘माटिच युनाइटेडमा रहेको तीन वर्ष बितेको छ। क्लबको महत्व बुझ्दै करियरलाई उकास्ने क्षमतावान खेलाडी हुन।’ माटिच आबद्ध क्लब यस सिजनको प्रिमियर लिग अंकतालिकामा पाँचौं स्थानमा छ। आगामी सिजनको च्याम्पियन्स लिगका लागि संघर्ष गरिरहेको युनाइटेडले लिगमा पाँच खेल बाँकी रहेको अवस्थामा ३३ खेलबाट ५५ अंक जोडेको छ।

सात खेल बाँकी रहँदै च्याम्पियन बनेको लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा म्यानचेस्टर सिटी, तेस्रो स्थानमा लेस्टर सिटी र चौथो स्थानमा चेल्सी छन्। चेल्सी र पाँचौं स्थानको युनाइटेडबीच दुई अंकको अन्तर छ। 

प्रकाशित: २३ असार २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App