८ वैशाख २०८१ शनिबार
खेल

बराबरीले बार्सिलोनाको उपाधि झन् कठिन

लियोनल मेसीले करियरको ७ सयाैं गोल पूरा गरेको दिन मंगलबार साविकको विजेता बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ को बराबरीमा रोकिँदा उपाधि लक्ष्यमा फेरि धक्का लागेको छ।  

पछिल्ला चार खेलमध्ये तीनमा अंक बाँडेसँगै उपाधि होडमा रहेको बार्सिलोनालाई मंगलबार गुमाएको अंकले उपाधि जित्न झन् कठिन भएको छ। अर्को टोली रियाल मड्रिडले आउँदो खेलमा जित निकाले  उपाधिका लागि अब्बल हुनेछ। एक खेल कम खेलको रियालले १ अंकले अगाडि रहँदा आउँदो खेलमा जित निकाले चार अंकको अग्रता बनाउने अवसर पाउनेछ। बुधबार घरेलु मैदानमा रियालले गेटाफेलाई आतिथ्य गर्दै छ।  

मंगलबार करियरमा ७ सयांै गोल पूरा गर्दा लियोनल मेसीले पेनाल्टीको सहारा लिनुपरेको थियो। खेल अवधिभर भएका चारमध्ये तीन गोल पेनाल्टीबाट भएका थिए भने एक गोल डिएगो कोस्टाले बार्सिलोनालाई उपहार दिएका थिए। सुरुआत नै उपहार गोलबाट अग्रता बुनेको बार्सिलोनाविरुद्ध भ्रमणकारी टोली एट्लेटिकोले पकड जमाएको थियो। ११औं मिनेटमा कोस्टाले आफ्नै पोस्टमा गोल गर्दा बार्सिलोनाले अग्रता पाएको हो। त्यसको ८ मिनेटपछि साउल निग्युजले पेनाल्टीबाट नै गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। अर्टुरो भिडालले एट्लेटिको मड्रिडका यानिक कारास्कोलाई खराब फाउल गरेपछि रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा पेनाल्टी दिएका थिए। निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा भ्रमणकारी टोलीले पकड राखेको थियो। 

लगातारका चारमध्ये तीन खेलमा बराबरी नतिजा हात पारेको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको भविष्य पनि अन्योल देखिएको छ। खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नरहेको समाचार बाहिर आइरहेको अवस्थामा प्रशिक्षकको भविष्य अन्योल भएको हो। 

दोस्रो हाफमा आक्रामक देखिएको बार्सिलोनाका लागि लियोनल मेसीले ५१औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए। डिफेन्डर नेल्सन सिमेडोलाई पेनाल्टी क्षेत्रभित्र खराब ट्याकल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टी प्रहारमा मेसीले गोल गर्दै करियरमा ७ सयौं गोल पूरा गरेका थिए। त्यो अग्रता पनि धेरै समय टिकेन। ६२औं मिनेटमा पुनः निग्युजले पेनाल्टीबाट नै गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि दबाबमा देखिएको बार्सिलोना तीन अंकका लागि प्रयास गरे पनि सफल हुन सकेन। 

बार्सिलोनाविरुद्ध गोल गरेपछि एट्लेटिको पड्रिडका साउल निग्युज(बिच) तस्बिर: एएफपी

 बार्सिलोनासँग अंक खोसेको एट्लेटिको मड्रिड तालिकाको तेस्रो स्थानमा यथावत् छ। मंगलबारै लेगानेसविरुद्ध ३–० को जित निकालेको सेभिया चौथो स्थानमा रहँदा एट्लेटिको मड्रिड दुई अंकले पछाडि छ। लगातारका चारमध्ये तीन खेलमा बराबरी नतिजा हात पारेको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको भविष्य पनि अन्योल देखिएको छ। खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नरहेको समाचार बाहिर आइरहेको अवस्थामा प्रशिक्षकको भविष्य अन्योल भएको हो।  

‘डे«सिङ रुममा मलाई समर्थन थियो। सबैले योजनामुताबिक खेल्ने लक्ष्य राखेका थियौं,’ प्रशिक्षक सेटियनले भने, ‘खेलअघि भएको छलफलबारे भने म केही भन्न चाहन्नँ।’ सेल्टा भिगोसँग भएको खेल समीक्षाका लागि सोमबार बैठक बसेको थियो।  

ला लिगाअन्तर्गत मंगलबार नै गेटाफेले रियाल सोसिडाडलाई २–१ ले हरायो। अर्को खेलमा यसै सिजन बढुवा भएको मालोर्काले सेल्टा भिगोलाई ५–१ ले हराउँदा लेगानेस घरेलु मैदानमा सेभियासँग ३–० ले स्तब्ध भयो। 

प्रकाशित: १८ असार २०७७ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App