१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धरानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुँदै

धरान १५ मा निर्माणाधीन क्रिकेट मैदान। तस्बिरः रोहित राई

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ। मिनी ब्राजिलका युवामा क्रिकेट खेलप्रति आकर्षण बढ्दो छ। तर, अभ्यास गर्ने क्रिकेट मैदानको भने अभाव छ। अहिले धरान १५ स्थित खोरिया बस्तीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ। भक्तराज कन्दङ्वा स्मृति क्रिकेट मैदान नाम दिइएको खेल मैदान चालू आर्थिक वर्षमा १ करोड बजेटबाट निर्माण  भइरहेको छ। यो बजेट प्रदेश १ सरकारले चालू वर्षमा विनियोजन गरेको थियो।

धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठका अनुसार क्रिकेट मैदानको डिपिआर तयार भइरहेको छ। डिपिआरबिनै पनि विज्ञसँग आवश्यक सल्लाह लिएर निर्माण कार्य थालिएको उनले बताए। डिपिआर तयार भइसकेपछि कुनै पनि संरचना भत्काउन नपर्ने गरी अहिले निर्माण थालिएको इन्जिनियर श्रेष्ठको भनाइ छ। ‘लकडाउनका कारण डिपिआर तयार हुन केही ढिलाइ भयो, अहिले निर्माण भएको कुनै पनि संरचना पछि भत्काउन नपर्ने गरी नै काम अघि बढेको छ,’ श्रेष्ठले भने,‘क्रिकेटका जानकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अघि बढेको हो।’

‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान परिकल्पना गरेर त्यहीअनुसार जमिन व्यवस्थापन र पूर्वाधार निर्माणको काम भइरहेको छ। धरानका लागि मात्र होइन, प्रदेशकै खेलकुदका लागि यो महत्वपूर्ण संरचना हुनेछ।’

प्रदेश सरकारको बजेटबाट टेन्डर आह्वान गरेर अहिले निर्माण कार्य थालिएको छ। मैदानमा ड्रेन निर्माण, फेन्सिङ, माटो कटिङलगायतको काम भइरहेको छ। एक करोड बजेटमध्ये आरटी निर्माण सेवा धरानले करिब ७७ लाखमा ठेक्का पाएर कार्य गरिरहेको छ। बाँकी रहेको बजेटले पनि थप निर्माण कार्य हुने क्रिकेट मैदान संरक्षण समितिका संयोजक अइन्द्रबिक्रम बेघाले बताए। ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान परिकल्पना गरेर त्यहीअनुसार जमिन व्यवस्थापन र पूर्वाधार निर्माणको काम भइरहेको छ,’ बेघाले भने,‘धरानका लागि मात्र होइन, प्रदेशकै खेलकुदका लागि यो महत्वपूर्ण संरचना हुनेछ।’

यो क्रिकेट मैदान निर्माणको पहल भने एक दशक अघिदेखि सुरु भएको थियो। यसअघि पनि विभिन्न निकायबाट थोरैथोरै बजेट यो मैदानमा लगानी भएको थियो। संरक्षण समिति संयोजक बेघाका अनुसार विगतमा सबैभन्दा पहिला अर्थ मन्त्रालयबाट मैदानका लागि एक लाख रुपैयाँ आएको थियो। त्यसपछि तत्कालीन सभासद किरणकुमार राई, कृष्णकुमार राई, नगर सरकारबाट पनि केही बजेट यो मैदानमा लगानी भएको थियो। ‘डिपिआर तयार भइसकेपछि हाम्रो परिकल्पनाले मूर्त रूप लिन्छ र धरान, प्रदेश सरकारले पनि आवश्यक बजेट विनियोजन गर्छ भन्ने अपेक्षा छ,’ बेघाले भने।

क्रिकेट मैदानको गोलाइ १४३.५ मिटर छ। सेन्टरबाट ७१.५ मिटर लम्बाइ छ। मैदानको पानीलाई निकास दिन अहिले ड्रेन निर्माण भइरहेको हो। यसको चौडाइ ९१ इन्चको हुनेछ। त्यसमाथि ६ फुट उचाइको घेराबारा(फेन्सिङ) गरिनेछ। टेन्डर गरेपछि बचेको बाँकी रकमलाई मैदान बीचमा क्लियर गर्न, लेभलिङ गर्न तथा उत्तरपट्टि तारबार लगाउन पहल भइरहेको संरक्षण समितिले जनाएको छ। निर्माण ठेक्का पाएको कम्पनीका प्राविधिक आशिष कटवालले असार मसान्तभित्रै ठेक्कामोजिमको काम सकिने बताए।  

प्रकाशित: १४ असार २०७७ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App