२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

तेक्वान्दो डोजाङ प्रमुखलाई राहत

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासका लागि एकीकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन्। ‘खेलकुदको विकासका लागि एकीकृत कोष आवश्यक छ,’ उनले भने, ‘कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुनेछ।’  

मेयर जिसीले कोषमा राज्यबाट र निजी क्षेत्रबाट पनि  सहयोग हुनुपर्ने बताए। ‘कोष स्थापनाले खेलकुद विकासमा नयाँ आयाम थपिने मात्रै नभई व्यवस्थितसमेत हुनेछ,’ तेक्वान्दो डोजाङ प्रमुखलाई राहत वितरण एवं तेक्वान्दो पदाधिकारीको कोरोना बिमापछि सम्बोधन गर्दै उनले भने,‘त्यसको सुरुआत महानगरपालिकाले गर्नेछ।’ पोखरा महानगरले पनि खेलकुदको पूर्वाधार विकासका लागि बर्सेनि करोडौं रुपैयाँ बजेट छुट्टाउँदै आएको छ। महानगरपालिकाले महानगरकै उच्च उचाइको खेल मैदान पोखरा–२० मौजामा निर्माण गर्न १ करोड रुपैयाँ छुट्ट्याएको छ।  

कास्की जिल्ला तेक्वान्दो संघले आफ््ना मातहातका डोजाङ प्रमुखलाई राहतसँगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोभिड १९ बिमा गरिदिएको छ। कोभिड १९ महामारीका कारण तीन महिनादेखि अवरुद्ध बनेका पोखराका १४ तेक्वान्दो डोजाङ प्रमुखलाई राहतस्वरूप नगद १० हजार प्रदान गरेको हो भने २० जनालाई १ लाख बराबरको कोरोना बिमासमेत गरेको छ। त्यसै गरी हालै सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेमा कांस्य पदक जित्ने रेखमाया गुरुङलाई प्रोत्सहानस्वरूप नगद १० हजार प्रदान गरिएको थियो।  

कास्की जिल्लामा सञ्चालित २४ वटा डोजाङ र स्कुल कोभिड १९ का कारण प्रभावित रहेको बताउँदै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले डोजाङ प्रमुख र संघका सदस्यहरुलाई कोभिड १९ बिमा गराइएको बताए। उनले डोजाङहरुमा प्रशिक्षण प्रभावित भएका कारण निकै ठूलो समस्या भोग्नुपरेकोले डोजाङ प्रमुखहरुलाई राहतस्वरूप प्रतिडोजाङ १० हजार प्रदान गरिएको उल्लेख गरे।  

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा महानगरले विशेष रूपमा सोच्न र बजेट विनियोजन गर्न आग्रह गरे। राहत वितरण कार्यक्रममा नेपाल तेक्वान्दो सघका केन्द्रीय सदस्य मदन केसी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, संघका सचिव कुलचन्द्र शर्मालगायतले कोभिड १९ ले खेलकुदमा पारेको प्रभावका बारेमा धारणा राखेका थिए। पोखरामा सञ्चालित १४ विभिन्न डोजाङ र स्कुलमा समेत गरी करिब १ हजार ५ सय तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन्।

प्रकाशित: ८ असार २०७७ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App