५ वैशाख २०८१ बुधबार
खेल

बार्सिलोनाद्वारा रियालमाथि थप दबाब

लियोनल मेसीमाथि रग्बी ट्याकल र उनको पेनाल्टीप्रेरित बार्सिलोनाले मंगलबार लेगानेसलाई २–० ले हराउँदै रियाल मड्रिडमाथिको दबाब थप सिर्जना गरेको छ ।  

दर्शकबिनाको क्याम्प नोउमा पाहुना टोली लेगानेसमाथि सहज जित निकाल्दै बार्सिलोनाले उपाधिको प्रमुख प्रतिद्वन्द्वी रियालमाथि दबाब सिर्जना गरेको हो । खेलको पहिलो हाफमा उनाइ बुस्टिन्जाले दुवै हात मेसीको शरीरमा राख्दै रग्बी शैलीको ट्याकल गरेका थिए । दोस्रो हाफमा पनि उनले मेसीमाथि सोही हर्कत दोहो¥याउँदा पेनाल्टी अवसर बन्यो र जसलाई मेसीले गोलमा परिणत गराएका थिए । यस सिजन ३३ खेलमा मेसीले २६ गोल गरेका थिए । पछिल्ला ८ खेलमा उनले सात गोल गर्दा ८ एसिस्टसमेत गरेका छन् । १७ वर्षे आन्सु फातीले खेलको सुरुआतमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

युवा स्टार फातीले आफ्नो डेब्यु सिजनमै आठ खेलबाट पाँच गोल पूरा गरिसकेका छन् । लेगानेसले च्याम्पियन टोली बार्सिलोनासँग केही दबाब महसुस गरे पनि खेलको सुरुआतमै पाहुना टोलीका मिगुल एन्जेल गुइरोले दुई अवसर बनाएका थिए । उनको पहिलो प्रहार गोललाइनबाट क्लियर हुँदा दोस्रो पटक पनि बारमा ठोक्किन पुग्यो । ‘हामी खेलको सुरुआतमै केही भाग्यमानी पनि साबित भयौं,’ बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको स्वीकारोक्ति थियो । तर, उनको टोलीले राम्रो प्रदर्शनलाई निरन्तरता दिँदै रियालमाथिको अग्रता पाँच अंकले बढाएको छ ।

रियाललाई आगामी शुक्रबार भ्यालेन्सियालाई हराउँदै बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर मिल्नेछ । तीन महिनापछिको विश्रामपश्चात् रियालको लय परीक्षा भ्यालेन्सियासँग देखिनेछ । बार्सिलोनाको पनि शुक्रबार नै लिगको तेस्रो टोली सेभियाविरुद्ध प्रदर्शनको मूल्यांकन हुनेछ । सेटियनले घाइते भएका जेरार्ड पिकै छिट्टै खेलमा फर्किने बताएका छन् । हारसँगै लेगानेसलाई यस सिजन रेलिगेसनको भय थप बढेको छ । पुछारमा रहेको टोली लेगानेसको अंक बढाउने लक्ष्य बार्सिलोनाले पूरा हुन दिएन । क्याम्प नोउमा खेलको सुरुआती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुने पनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अग्रता लियो ।

सुरुआती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले महँगो मूल्य चुकाउनुप¥यो । गुइरेरोले दुई मिनेटको अन्तरमा दुई अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेस अग्रता लिनबाट चुकेको थियो । १२औं मिनेटमा गुइरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरे पनि गोल गर्न भने सकेन । त्यसको दुई मिनेटमा नै गुइरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरियो । ४१औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलबाट अग्रता लिएको थियो । ४४औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा लियोनल मेसीको हेडरले पोस्टको दिशा लिन सकेन ।

६४औं मिनेटमा एन्टोनी ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायता लिँदै गोल मान्यता दिएनन् । त्यसको चार मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पा¥यो । लेगानेसका डिफेन्डरले मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टीलाई मेसीले गोलमा परिणत गरेका थिए । जितसँगै बार्सिलोनाले २९ खेलबाट ६४ अंक र दोस्रो स्थानको रियालले २८ खेलबाट ५९ अंक बनाएका छन् । लेगानेस भने २९ खेलबाट २३ अंक जोड्दै तालिकाको पुछारमा छ ।

प्रकाशित: ४ असार २०७७ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App