२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एन्फामा घलेको पुनर्बहाली

एन्फा कार्यसमितिको बैठकमा दायाँ अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधार । तस्बिर सौजन्य: एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैँले कारबाही गरेका मानार्थ अध्यक्ष टासी घलेलाई पुनर्बहालीका साथै आगामी जुुलाईदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने योजनासहित मुख्य ६ निर्णय गरेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार बसेको कार्यसमितिको आपत्कालीन बैठकले गत माघमा कारबाही गरिएका घलेलाई पुनर्बहाली गर्ने र विश्वकप फुटबलको दोस्रो चरण छनोटको तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । पछिल्ला समय एकपछि अर्को आन्तरिक विवादमा फसेको एन्फाले पूर्ववर्ती आफ्ना निर्णयप्रति लचक हुँदै विवाद मत्थर बनाउने प्रयास गरिरहेको छ । एन्फाको नेतृत्व परिवर्तनमा भूमिका खेल्दै आएका मानार्थ अध्यक्ष टासी घलेको पदच्युत र वर्तमान कार्यसमितिकै पदाधिकारी र सदस्यहरू नै आरोपप्रत्यारोपमा उत्रिँदा एन्फा आन्तरिक विवादमै रुमलिन पुगेको थियो ।

एन्फा निर्वाचनमा वर्तमान नेतृत्वको प्यानललाई सघाएपछि घलेले मानार्थ अध्यक्षको जिम्मेवारी पाएका थिए । तर, कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फासँग विवादका कारण घलेलाई गत वर्ष माघ ३ गते एन्फा केन्द्रीय समितिले नै बर्खास्त गरेको थियो । त्यसपश्चात् घलेले पाटन उच्च अदालत, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सर्वोच्च अदालतमा उजुरी दर्ता गराएका थिए । पछिल्ला समय विवाद झाँगिन थालेपछि एन्फाले घलेको बाँकी कार्यकाल फर्काउने निर्णय गरेको छ ।  

उनलाई वर्तमान नेतृत्वको बाँकी कार्यकालसम्मका लागि मंगलबारको आपत्कालीन बैठकले मनोनयन गरेको छ । सोमबार नै एन्फाको आपत्कालीन समितिको बैठकबाट घलेलाई मनोनयन गर्ने तयारी गरिएको थियो । तर, समितिका सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ उपस्थित नभएपछि बैठक स्थगित हुन पुग्यो र घलेको पुनर्बहाली योजना एक दिन पर स¥यो । तर, एन्फा अध्यक्ष शेर्पाले २४ घण्टा नबित्दै मंगलबारका लागि कार्यसमितिको आपत्कालीन बैठक बोलाए पनि पुनः नेम्बाङ उपस्थित भएनन् ।  

उनी स्वास्थ्यका कारण उपस्थित हुन नसकेको एन्फा महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए । एन्फाले आगामी विश्वकप छनोटको तयारीका लागि एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनअनुसार नेपाली खेलकुदको सरोकारवाला निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालयको स्वीकृति लिई जुलाईदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ ।

त्यस्तै मंगलबारको बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटीसमेत गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनको आधारअनुसार विधान र नियमावली विपरीत कार्य गरेकाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटी गठन गरिएको एन्फाले जनाएको छ । एन्फा विधानको धारा ५४ अनुसार जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति भंग गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कमिटी गठन गरिएको एन्फाले उल्लेख गरिएको छ ।  

फिफाबाट आएको कोरोना भाइरसबाट प्रभावित भएकालाई दिने राहत रकम पनि कार्यसमितिले पास गरेको छ । जसमा हरेक जिल्ला संघ, ए, बी र सी डिभिजन क्लबलाई ७५ हजारका दरले दिने निर्णय पारित गरेको छ । एन्फाले नेपाली पुरुष र महिला राष्ट्रिय टोलीका ३५/३५ जना गरी कुल ७० जना खेलाडीको बिमा गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित: ३ असार २०७७ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App