८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाको सहज जित

बार्सिलोनाले रियाल मालोर्कामाथि ४–० को सहज जितका साथ स्पेनिस ला लिगाको पुनरागमनमा सुखद सुरुआत गरेको छ । कोरोना भाइरस महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबारबाट पुनः सुचारु भएको थियो । पहिलो खेलमा सानदार जितका साथ शीर्षता थप फराकिलो पार्ने क्रममा लियोनल मेसीको टोलीले खेल सुरु भएको ६६ सेकेन्डमै गोल खाता खोलेको थियो ।

घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै आर्टुरो भिडालले हेडरमार्फत बार्सिलोनालाई खेलमा अघि बढाएका थिए । ३७औं मिनेटमा स्ट्राइकर मार्टिन ब्राथवाइटले बललाई जाली चुमाउँदै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

लुइस स्वारेजले चोटपछि पुनरागमनसमेत गरेको खेलको ७९औं मिनेटमा जोर्डी अल्बाले बार्सिलोनाको अग्रता थप बढाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मेसीले बललाई पोस्टको दिशा दिँदै बार्सिलोनाको सहज जित पक्का गरेका थिए । जारी सिजन मेसीको यो २०औं ला लिगा गोल हो ।

तीन महिना ला लिगा स्थगन हुनु स्वारेजका लागि भने चोटबाट पुनरागमन गर्ने राम्रो समय बन्यो । यसअघि जनवरीमा घुँडाको शल्यक्रियापछि स्वारेजले सिजनको बाँकी खेल गुमाउने अनुमान गरिएको थियो । खेलको अन्तिम मिनेटमा स्वारेजले बार्सिलोनाका लागि पाँचाैं गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन् । भिडालको पासमा स्वारेजले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

यस जितपछि २८ खेलमा ६१ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ,जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको रियाल मड्रिडभन्दा ५ अंक बढी हो । सेभिया ५० अंकका साथ तेस्रो स्थानमा छ भने समान ४६ अंक जोडेका रियाल सोसिडाड र गेटाफे क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

फेबु्रअरीमा ओसामाने डेम्बेलेले चोटका कारण पूरा सिजन गुमाउने निश्चित भएपछि ला लिगाले बार्सिलोनालाई खेलाडी सरुवा बजार नखुले पनि खेलाडी अनुबन्धनका लागि अनुमति दिएको थियो । यस क्रममा बार्सिलोनाले लिगानेसबाट ब्राथवाइटलाई भित्र्याएको थियो ।

‘हामीले खेल पूर्ण रूपमा नियन्त्रणमा लियौं र तीन महिनाको विश्रामपछि पनि उत्कृष्ट प्रदर्शन गर्याें,’ अल्बाले भने, ‘हामीले अब ला लिगाको उपाधि रक्षा गर्न १० खेल जित्नुपर्छ र हामी उपाधि रक्षाकै लक्ष्यमा छौं ।’

ला लिगाअन्तर्गत शनिबार भएका अन्य खेलमा स्पानियोलले आल्भेसलाई २–० ले हराउँदा भियाारियालले सेल्टा भिगोलाई १–० ले निराश पा¥यो । त्यस्तै रियाल भालाडोलिडले लेगानेसलाई २–१ ले पराजित गर्यो ।

प्रकाशित: १ असार २०७७ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App