१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘बन्द रंगशालामा फुटबल खेलाउनु पागलपन’

फ्रयांक स्टम्बस आर्सनलका समर्थक हुन् । उनले विगत ३० वर्षमा आर्सनलको घरेलु मैदानमा एक खेल पनि छुटाएका छैनन् । मे ३१ मा उनले लेखेका थिए, ‘बन्द रंगशालामा हुने फुटबल फुटबल होइन । मलाई डर लागिरहेको छ ।’ यो सिजन उनका लागि मार्च १३ मै समाप्त भइसकेको थियो, किनभने त्यस दिन इङ्ल्यान्डमा पनि कोभिड १९ का कारण फुटबल गतिविधि पूर्ण रूपमा स्थगित भएको थियो । 

‘दी सिजन द्याट नेभर वाज’ नामक ब्लगमा स्टम्बसले लेखेका थिए, ‘बन्द रंगशालामा फुटबल खेलाउनु पागलपन हो ।’ अहिले पनि यही मितिमा फुटबल खेल हेर्न दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिइन्छ भन्ने कुनै निश्चितता छैन । कोरोना भाइरस महामारीको संक्रमण अझै बाँकी रहेकाले सम्भवतः बन्द रंगशालामा खेल खेलाउने नियम सन् २०२१ को मध्यसम्म लागू हुने अनुमान गरिएको छ । 

‘मानिसहरू सामान्य अवस्थाझैं निर्वाध रूपमा समूहसमूहमा हिँडडुल गर्न निकै समय लाग्नेछ । अथवा भनांै कोभिड १९ को भ्याक्सिन पत्ता नलागेसम्म,’ अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका डाक्टर जियोफ एम देहरको प्रतिवेदनमा भनिएको छ । खेलाडीका लागि मैदानमा आफ्ना समर्थक कति महत्वपूर्ण छन् भन्ने कुरा बिहीबार स्पेनिस ला लिगा तीन महिनापछि पुनः सुचारु भएको पहिलो खेलमा सेभियाका लुकास ओकाम्सले रियाल बेटिसविरुद्ध पेनाल्टी गोल गरेसँगै रंगशालाको सिटतर्फ फर्कंदै सलाम गरेको क्षणले पनि दर्साउँछ । 

‘यद्यपि रंगशालामा दर्शक उपस्थित छैनन्, तर पनि म उनीहरूप्रति सम्मान गर्न चाहन्छु । म चाहन्छु दर्शकले मैदानमा अनुपस्थित हँुदा पनि रंगशालामा उपस्थित भएको महसुस गरून्,’ लुकासले भनेका थिए । ‘बुन्डेसलिगा हेर्दा त्यहाँ सबै आवाज सुनिन्थ्यो । फुटबलको रमाइलो क्षण हामीले गुमााइरहेका छांै,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भनेका थिए । 

यता बायर्न म्युनिखका थोमस मुलरले पुनः सुचारु भएपछिको पहिलो खेलमा भनेका थिए, ‘यो खेलको वातावरण हेर्दा लाग्छ, वृद्धहरूले खेलिरहेका छन् ।’ त्यस्तै टेनिस स्टार रोजर फेडेररले बन्द रंगशालामा खेलेको कल्पनासमेत गर्न नसकिने बताएका थिए । ‘मलाई आशा छ, हामीले कहिल्यै बन्द रंगशालामा खेल्न नपरोस्,’ २० पटकका ग्रान्ड स्लाम विजेता फेडेररले भनेका थिए । 

फेडेररले चोटका कारण यस वर्षका बाँकी खेल भने गुमाउनेछन् । ‘के बन्द रंगशालामा खेल हुँदा दर्शकले प्रत्यक्ष हेरेको जस्तो खेलको मजा लिन सक्छन्,’ आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले भनेका छन्, ‘बिनादर्शक सिजन अन्त्यको कल्पनासमेत गर्न सकिन्न ।’ यता अस्ट्रेलियाको सरकारले भने शुक्रबार ४० हजार दर्शक क्षमता भएको रंगशालामा जुलाईबाट खेल हेर्न १० हजार दर्शक मैदान प्रवेश गर्न पाउने घोषणा गरिसकेको छ । अर्को महिना विश्व टिम टेनिसका क्रममा पनि कम्तीमा ५ सय दर्शकलाई खेल हेर्न दिने बताइएको छ ।

त्यस्तै रूसमा जुन २१ बाट लिग पुनः सुचारु हुँदा रंगशालामा १० प्रतिशत दर्शकलाई मैदान प्रवेशमा अनुमति दिने बताइएको छ । कोरोना भाइरस महामारीको संक्रमण अझै बाँकी रहेकाले सम्भवतः बन्द रंगशालामा खेल खेलाउने नियम सन् २०२१ को मध्यसम्म लागू हुने अनुमान गरिएको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App