२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अभ्यासमा फर्किए मेसी

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी एक सातापछि सुचारु हुने लिगका लागि सोमबारबाट अभ्यासमा फर्किएका छन् ।

शनिबार अर्को क्लब मालोर्कासँग हुने खेलका लागि सुखद नतिजा निकाल्न मेसी मैदानमा अभ्यासमा फर्किएका हुन् । उनी सबै समकक्षीसँग अभ्यासमा फर्किएका हुन् । स्ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघि लिग छिट्टै सुचारु भए मेसी मैदान फर्किने या नफर्किनेमा आशंका थियो । गत बिहीबारबाट सामान्य अभ्यासबाट मैदानमा देखा परेका मेसीलाई मंगलबारदेखि चोट देखा परेको थियो । तर बुधबार र शुक्रबार मेसी अभ्यासमा नगई जिममा मात्र सहभागी भएका थिए । क्याम्प नोउमा भने बिहीबार बिदा दिइएको थियो ।

तर बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा एक सातापछि सुचारु हुने लिगमा कप्तान पुनः टोलीमा फर्किने जनाएको छ । सुचारु हुने लिगको पहिलो खेलमा मेसी मालोर्कासँगको खेलमा फर्किन्छन् या फर्किन्नन् भन्ने प्रश्नमा प्रशिक्षक क्विके सेन्टिनले मेसी मात्र टोलीका खेलाडी नभएको प्रतिक्रिया दिए । उनले सबै खेलाडी उत्तिकै खेल्न सक्षम भएको भन्दै मालोर्कासँगको खेलमा आफ्नो टोलीले सुखद नतिजा निकाल्ने बताए ।

‘टोलीले अभ्यास राम्रोसँग गरिरहेको छ । पहिलोजस्तो नभए पनि टोली सन्तुलित देखिएको छ,’ प्रशिक्षक सेन्टिनले भने, ‘गत मार्चबाट स्थगित भएको लिगअन्तर्गत सुचारु हुने पहिलो खेलमा टोलीले सुखद नतिजा निकाल्छ । सबै खेलाडीले आराम पाएका छन् । सबै खेल खेल्न आतुर  छन् ।’

यस्तै प्रशिक्षक सेन्टिनले अर्का स्ट्राइकर लुइस स्वारेजको फिटनेसकोे बारेमा जानकारी गराएका थिए । उनले स्वारेज खेलमा फर्किनेमा हरियो संकेत दिएका छन् । स्वारेज गत जनवरीदेखि दायाँ घुँडाको चोटबाट ग्रसित थिए ।

‘हामीले सोचेभन्दा पनि स्वारेजको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ,’ प्रशिक्षक सेन्टिनले थपे, ‘लामो समय स्वारेज मैदानबाहिर रहेका छन् । उनी अभ्यासमा पनि कम देखिने गरेका छन् । फर्किनेमा अझै दुविधा छ ।’

विश्वभर माहामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना) का किारण विश्व खेलकुद गतिविधि ठप्प हुँदा स्पेनिस ला लिगा पनि स्थगित भएको थियो । ला लिगामा अझै ११ राउन्डका खेल सकिन बाँकी रहेको छ । स्थगनपूर्व बार्सिलोना २७ खेलबाट ५८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा समान खेलबाट रियाल मड्रिड ५६ अंकका साथ दोस्रो स्थानमा छ । बिहीबारबाट सुचारु हुने लिगको पहिलो खेलमा सेभियाले रियाल बेटिससँग प्रतिस्पर्धा गर्दै छ । नयाँ तालिका जुलाईको अन्तिमसम्म सकिने अपेक्षा लिइएको छ ।

ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघि लिग छिट्टै सुचारु भए मेसी मैदान फर्किने या नफर्किनेमा आशंका थियो ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App