७ वैशाख २०८१ शुक्रबार
खेल

खर्च भएन प्रदेशको खेलकुद बजेट

तीन वर्षदेखि बजेट अभावमा अलपत्र परेको लेखनाथ भण्डारढिकस्थित बहुउद्देश्यीय कभर्ड हल । तस्बिर नागरिक

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्ट्यायो । तर खर्च भने गर्न सकेन । बजेट निकासा नहँुदा पूर्वाधारको काम हुन सकेन । प्रदेश सरकारले गएको साता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खेलकुदको पूर्वाधार निर्माणलाई निरन्तरता दिइने उल्लेख छ । काम नै सुरु नगरेको पूर्वाधारलाई फेरि बजेट छुट्ट्याउने योजनासहित नीति तथा कार्यक्रम सभामा पेश गरियो । पहिलो वर्ष खेलकुद पूर्वाधारका लागि विज्ञ टोली गठन गरेर अध्ययन गरिएको थियो । दोस्रो वर्ष बजेट विनियोजन गरियो । बजेट खर्च हुन सकेन ।  तेस्रो वर्षको नीति तथा कार्यक्रममा यसलाई फेरि समावेश गरिएको छ ।  

प्रदेश प्रमुख अमिक शेरचनले पोखरा सभागृह हलमा नीति तथा कार्यक्रम सार्वजनिक गरे । नेपाल सरकारको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्न लक्ष्य राखिएको बताए । उच्च उचाइ खेलकुद तालिम केन्द्र र क्रिकेट रंगशालालगायतका पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले क्रिकेट रंगशालाका लागि एक करोड रुपैयाँ छुट्ट्याएको थियो । पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटको झन्डै ४ सय रोपनी क्षेत्रफललाई क्रिकेट रंगशाला बनाउने योजना थियो । तत्कालीन समयमा जमिन सम्याएर क्रिकेट पिच बनाई खेल्ने योग्य बनाउन कास्की जिल्ला क्रिकेट संघले आग्रह गर्दै आएको थियो । कामको प्रगति शून्यमै रह्यो । ‘बजेट नै नदिएपछि क्रिकेट रंगशालाको काम अगाडि बढ्न सकेन,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘नीति तथा कार्यक्रममा फेरि समावेश भएको छ । आगामी वर्ष बजेट निकासा भए काम हुने अपेक्षा छ ।’

पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताका लागि दुईवटा मैदान आवश्यक पर्छ । ‘जग्गा प्राप्ति गर्यौं । बजेट पनि छुट्ट्याइएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन ढिलाइ हुन पुग्यो,’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने, ‘अर्को वर्ष डिपिआर बनाएर काम अघि बढाउनेछौं ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषद्ले ३ करोड रुपैयाँको ठेक्का टेन्डर गरिसकेको छ । तर प्रदेश सरकारले भने विस्तृत परियोजना प्रतिवेदनसमेत बनाउन नसक्दा काम हुन नसकेको हो ।

तीन वर्षदेखि अलपत्र परेको भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हललाई समेत २५ लाख रुपैयाँ दिने प्रदेश सरकारले घोषणा गरेको थियो । त्यो बजेटसमेत निकासा हुन सकेन । ‘प्रदेश सरकारले दिने भनेको २५ लाख रुपैयाँ समेत नदिँदा काम अगाडि बढ्नै सकेको छैन’ स्थानीय आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले भने, ‘महानगरपालिकाले छुट्ट्याएको एक करोड रुपैयाँ पनि दिएको छैन । निकासाका लागि ताकेता गर्दा आनाकानी गरेर टार्ने गरेका छन् ।’ महानगरपालिकाले पनि एक निर्वाचन क्षेत्र एक खेलमैदानको नीतिअनुसार बजेट छुट्ट्याए पनि निकासा नगरिदिँदा हलले मूर्त रूप लिन सकेको छैन ।

तीन वर्षअघि परिषद्ले ५० लाख रुपैयाँ उपलब्ध गराउँदै काम सुरु गरेको थियो । फाउन्डेसनसँगै पिलर ठडिनेबाहेक केही भएको छैन । ‘आर्थिक अभावले अलपत्र परेको कभर्ड हल पूरा गर्न जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिमार्फत परिषद्सँग आग्रह ग¥यौं’ भण्डारढिकस्थित आदर्श क्लबका अध्यक्ष भण्डारीले भने, ‘तर बजेट पर्न सकेको छैन । त्यसैले काम पनि रोकिनुको विकल्प रहेन ।’

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हँुदै छ । पोखरामा भने फुटबलबाहेक क्रिकेट, भलिबल, बास्केटल, हकी, सेपाक ताक्रो, मार्सल आर्टलगायतका खेलको लागि आवश्यक पूर्वाधार एवं कभर्ड हल निर्माणमा खासै चासो कम छ । ‘पदक जित्ने खेलभन्दा पनि पपुलर खेललाई परिषद् र मन्त्रालयले बढी ध्यान दिएका छन्,’ कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान सचिव राजन पौडेलले भने, ‘मार्सल आर्टका खेल इन्डोर हलमा खेलाउनुपर्छ । तर हल पर्याप्त छैन । सरकारले लगानी गर्नेतर्फ ध्यान दिँदैन ।’ उनका अनुसार संघले आफ्नै लगानीमा हल निर्माण गर्छु भन्दा समेत गम्भीर बन्न सकेको छैन ।  ‘परिषद् र मन्त्रालयले बहुतले कभर्ड हलको अवधारणा अघि सारेका छन् । यद्यपि ठोस निर्णय नगर्दा संघले लगानी गर्न सकेका छैनन्,’ उनको भनाइ थियो ।

संघीय सरकारले मात्रै नभई प्रदेश सरकार र स्थानीय तहले समेत खेलकुदमा लगानी गर्नुपर्ने औंल्याइएको छ । ‘संघीय सरकारको मात्रै भर गरेर हुँदैन । प्रदेश र स्थानीय तह (पोखरा महानगरपालिका÷गाउँपालिका) ले समेत लगानी गर्न जरुरी छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘जहाँ जे सम्भव हुन्छ त्यही खेलको आवश्यकताअनुसार पूर्वाधार बनाउनुपर्छ ।’ पोखरा रंगशालाभित्र फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन, आर्चरी तथा लन टेनिसको पूर्वाधार बनेको भन्दै उनले यो देशकै ठूलो र नमुना रंगशाला भएको दाबी गरे ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App