१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सेमिफाइनलमा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठसहित नेपालका तीन खेलाडी अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

जर्मनीमा मे ४ देखि १० सम्म सञ्चालन हुने च्याम्पियनसिप अन्तर्गत बुधबार ३० वर्षमुनि उमेर समूहको व्यक्तिगत पुम्सेतर्फ  साग स्वर्ण विजेता कमलसहित तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन्। कमलसहित जितबहादुर बोटे र प्रेमबहादुर लिम्बुले पहिलो चरण पार गरेको नेपालकै अर्का प्रतिस्पर्धी लक्ष्मणबहादुर ऐरले जानकारी दिए। लक्ष्मणले पनि ५० वर्षमुनि उमेर समूहको पुम्सेमा चुनौती प्रस्तुत गरेका छन्।

यस च्याम्पियनसिपमा नेपालबाट १३ औं सागको अर्का स्वर्ण विजेता पार्वती गुरुङसहित पाँच खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। पार्वतीले जारी च्याम्पियनसिप ३० वर्षमुनि पुम्सेमा चुनौती प्रस्तुत गरेकी छन्। यसै उमेर समूहबाट पार्वतीले गत १३औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। पार्वतीले मंगलबार सार्वजनिक भएको आफ्नो समूह ‘ए’ बाट ६.७१५ अंकसहित ११औं स्थानको वरियता प्राप्त गरेकी छन्।

यस विधाका सम्पूर्ण नतिजा आएपछि मात्र पार्वतीको अर्को चरणको यात्रा तय हुनेछ। जर्मनीमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा पार्वतीको विधामा ‘ए’ देखि ‘डी’ समूहसम्म राखिएको छ। नेपालका तीन खेलाडीले फरक समूहबाट बुधबार पुरुष ३० वर्षमुनिको पुम्सेमा सेमिफाइनल यात्रा तय गरेका हुन्। गत सागमा पनि २३–३० वर्ष उमेरसमूहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका कमलले समूह ‘ए’ बाट ६.९३५ अंक प्राप्त गर्दै अर्को चरणको यात्रा तय गरेका हुन्।

प्रेमबहादुर लिम्बुले भने समूह ‘डी’ बाट ६.८२० अंक र जितबहादुर बोटेले ६.५८५ अंक प्राप्त गर्दै दोस्रो चरणको यात्रा तय गरेका हुन्। यस च्याम्पियनसिपमा ७२ देशका १ हजार २ सय ५४ जना खेलाडीले अनलाइनबाट दुई पुम्से प्रस्तुत गरेको नेपाली टोलीका सदस्य लक्ष्मणबहादुर ऐरले बताए। नेपाली खेलाडीले सहभागिता जनाएको विधा पुरुष ५० वर्षमुनि उमेरसमूहमा ६२ जना, ३० वर्षमुनि उमेरसमूहमा १ सय ७ जना र महिला ३० वर्षमुनि उमेरसमूहमा १ सय १२ खेलाडीले चुनौती प्रस्तुत गरेका छन्।

ऐरका अनुसार खेलाडीले प्रदर्शन गरेको पुम्से भिडियो युट्युब लिंकमार्फत २८ अप्रिलमा आयोजकलाई पठाइएको थियो। नेपाल तेक्वान्दो संघमार्फत खेलाडीले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको ओलम्पियन दीपक विष्टले जानकारी दिए। कोरोना भाइरसका कारण विश्वभर अधिकांश खेल प्रभावित भइरहँदा विभिन्न प्रविधिमार्फत पनि खेल सञ्चालन भइरहेका छन्। हरेक उमेर समूहका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले पदक प्राप्त गर्नेछन् भने अनलाइन च्याम्पियनसिपलाई व्यापक प्रवर्धन गर्ने हेतुले युट्युबमा सबैभन्दा धेरै लाइक र सेयर हुने भिडियोले समान २ सय ५० युरो पुरस्कार पाउनेछन्।

प्रतियोगिताको तयारीका लागि लकडाउनको समयमा सरकारको निर्देशनअनुसार शारीरिक दूरी कायम राखेर दैनिक चार घण्टा अभ्यास गर्ने गरेको लक्ष्मणबहादुर ऐरले बताए। तेक्वान्दो संघका प्रवक्ता दीपक विष्टले यस्ता प्रतियोगिताले खेलाडीलाई लकडाउनको अवस्थामा पनि घरभित्रै रहेर प्रशिक्षण गर्ने माध्यम सिर्जना गरेको बताए। यी खेलाडीले फ्रान्समा हुने अनलाइन विश्व च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्न तयारी गरेका छन्।

कमलसहित जितबहादुर बोटे र प्रेमबहादुर लिम्बुले पहिलो चरण पार गरेको नेपालकै अर्का प्रतिस्पर्धी लक्ष्मणबहादुर ऐरले जानकारी दिए। लक्ष्मणले पनि ५० वर्षमुनि उमेरसमूहको पुम्सेमा चुनौती प्रस्तुत गरेका छन्।

प्रकाशित: २५ वैशाख २०७७ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App