७ वैशाख २०८१ शुक्रबार
खेल

ग्यालेक्सीका उमेश नेपाल च्याम्पियन

धरान - झापा दमकमा रहेको ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेस्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्।

धरान ८ स्थित सभागृहमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअल राउन्डमा प्रथम हुँदै उमेश च्याम्पियन भएका हुन्। प्रतियोगितामा उनी ७५ प्लस केजी तौलसमूहबाट सहभागी भएका थिए। उनको यो पाँचौं उपाधि हो। यसअघि उनले काठमाडौंमा सम्पन्न भएको मिस्टर एभरेस्ट, साउथ एसियन च्याम्पियनसिपको उपाधि जितेका थिए भने २०७६ सालमा काठमाडौंमा नै भएको मिस्टर हिमालय र सन् २०१८ मा कुवेत क्लासिकको पनि उपाधि जितेका थिए। यस्तै, २०७३ सालमा भएको १४औं मिस्टर धर्मश्रीमा भने उनी ओभरअल राउन्डमा तेस्रो भए।

तेस्रो नेपाल च्याम्पियनको उपाधिसँगै उनले नगद २ लाख ५० हजार पनि हात पारे। एलाइनेट जिम धरान १५ ले आयोजना गरेको नेपाल च्याम्पियनको तीनवटै संस्करणको विजेता ग्यालेक्सी फिटनेसका खेलाडी भएका छन्। यसअघि, रामबहादुर दाहाल र ललित धिमालले यो उपाधि जितेका थिए। तेस्रो संस्करणमा फिटनेस दाङका कृष्णप्रसाद श्रेष्ठ दोस्रो भए भने बालभैरव जिम, ललितपुरका विनोद सुनार तेस्रो भए। उनीहरूले क्रमशः नगद १ लाख र ५० हजार हात पारे। श्रेष्ठ ७५ केजी तौलबाट भिडेका थिए भने सुनार ७० केजी तौलसमूहबाट भिडेका थिए।

यसै गरी, ६५ केजी तौलसमूहमा भिडेका फिनिक्स फिटशालाका मनोज सुवेदी चौथो हुँदै नगद ४० हजार पाए भने ५५ केजी तौलबाट भिडेका ड्याजल जिम विराटनगरका प्रवीण राजवंशी पाँचौं हुँदै नगद ३० हजार हात पारे। ६० केजी तौलसमूहबाट भिडेका एरो फिट्नेस, दमकका मदनकुमार योङहाङ छैटौं हँुदै नगद २५ हजार पाए। प्रतियोगितामा मस्ट इम्प्रुभिङ खेलाडीको पुरस्कार ५५ केजी तौलसमूहबाट भिडेका प्रवीण श्रेष्ठले पाए भने बेस्ट पोजर ६५ केजीबाट भिडेका खेलाडी बिजेन्द्रमान श्रेष्ठले जिते। यस्तै, ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डर पुरस्कार पाए।

विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरानका मेयर तिलक राई, एन्फा प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ माथि तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक तौल समूहमा प्रथम भएका खेलाडी मात्र उपाधिको लागि ओभरअल राउन्डमा सहभागी भएका थिए। प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App