२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

टाइब्रेकरबाट मच्छिन्द्र सेमिफाइनलमा

छैटौं माइभ्याली गोल्डकपमा भिड्दै मछिन्द्र क्लब (सेतो) र गोर्खा ब्वाइज क्लबका खेलाडी तस्बिर:भीम/नागरिक

इलाम - नेपाल लिग विजेता मच्छिन्द्र क्लब छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनल माप्रवेश गरेको छ। सोमबारको खेलमा बुटवलको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनल स्थान पक्का गरेको हो।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा पनि दुवैतर्फ गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो। टाइबे्रकरमा मच्छिन्द्रका देवेन्द्र तामाङ, रजिन धिमाल, विमल घर्तीमगर, दिनेश राजवंशी र बुद्ध चेम्जोङले गोल गरे। गोर्खाको तर्फबाट गौतम श्रेष्ठ, पासाङ लामा र विदेशी खेलाडी फोडे फोफनाले बललाई जाली चुमाए। अर्का विदेशी खेलाडी हम्जातको प्रहार पोस्टमा ठोक्किएर फर्केपछि गोर्खा घर फर्किन बाध्य भएको हो। सोमबारको खेलको म्यान अफ दी म्याच घोषित हुँदै मछिन्द्रका रजिन धिमालले नगद १० हजार हात पारे।

दुवै टोलीले पाएका राम्रा अवसर गुमाउँदा निर्धारित समयमा गोल हुन सकेन। मच्छिन्द्रका रजिन धिमालले दिएको सुन्दर पासलाई सदुपयोग गर्न नसक्दा योगेश गुरुङले विपक्षी गोर्खाको डी बक्सभित्र पाएका राम्रा अवसर चुकाए। मछिन्द्रकै विशाल राई ‘ए’ ले विपक्षीको गोल पोस्टनजिकैबाट सुन्दर प्रहार गरे पनि फ्रेममा पर्न सकेन। विराज महर्जनको उत्कृष्ट क्रस पासलाई मिस गरेका विमल घर्तीले रजिन धिमालले दिएको सुन्दर बललाई विपक्षीको पोस्टमा प्रहार गरे। तर, बल ठोक्किएर फर्कियो।

गोर्खाले पनि पाएका राम्रा अवसर चुकायो। गोर्खाका प्रशिक्षक किशोर केसीले अवसर सदुपयोग गर्न नसकेकै कारण पराजित हुनुपरेको बताए। ‘विपक्षीले भन्दा हाम्रा खेलाडीले राम्रो अवसर पाएका हुन् तर बलले जाली चुम्न सकेन,’ उनले भने, ‘हाम्रा खेलाडीले पनि खेल्नचाहिँ राम्रो खेलेका थिए, भाग्यले साथ नदिएको मात्रै हो।’

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले आफ्ना खेलाडी घाइते भएकाले सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। ‘मैदान अलि सानो भएकाले पनि खेलाडीलाई ब्यालेन्स मिलाउन समस्या परेको देखियो,’ उनले भने, ‘आउँदो खेल अहिलेभन्दा निकै राम्रो हुन्छ।’ विजेता मच्छिन्द्रले बुधबार भारत दार्जिलिङको एमएफसीसँग सेमिफाइनल खेल्नेछ।      
    यसअघि आइतबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ। आर्मीले संकटा क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App