१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पुबुदुको भैरहवाका लागि ३ विदेशी खेलाडी

काठमाडौं – राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले सम्हाल्ने भैरहवा ग्लाडियटर्सले आसन्न एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) का लागि तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ।

चैतमा पहिलो साताबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने चौथो इपिएल–२०२० का लागि भैरहवाले आइतबार पत्रकार सम्मेलन गरेर तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो। भैरहवाले यसअघि वेस्ट इन्डिजका ड्यानी स्मिथलाई अनुबन्धन गरेको थियो। सोही कार्यक्रममा नेपालका मुख्य पूर्वप्रशिक्षक पुबुदु दसानायकेले इपिएलका लागि खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

प्रशिक्षक दसानायकेले यस सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँहाते ब्याट्सम्यान मिलिन्दा सिरिवद्र्धनालाई अनुबन्धित गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरे। त्यस्तै ओमानका बायाँहाते बलर बिलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा प्रशिक्षक दसानायकेले टोली सन्तुलित रहेकाले भैरहवा उपाधिको हकदार रहेको प्रतिक्रिया दिए।

‘स्वदेशी र विदेशीको राम्रो समिश्रण भैरहवामा छ। पाँच राष्ट्रिय टोलीका खेलाडी पनि छन्,’ प्रशिक्षक दसानायकेले भने, ‘प्रतिभावान युवा खेलाडीहरू छन्। हामी भैरहवामा ट्यालेन्ट हन्ट गर्दै छौं। त्यहाँ पनि राम्रो खेलाडीको खोजी हुनेछ। टिम सन्तुलित छ, उपाधिका हकदार छौं।’ यस्तै खेलाडी सार्वजनिक कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि अनुरोध गरेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा दसानायकेले आफू भैरहवाका लागि केन्द्रित रहेको प्रतिक्रिया दिए।

६ टोलीमध्ये भैरहवालाई शरद भेषावकरले सम्हाल्दै छन्। टोलीमा शरदसँगै प्रदीप ऐरी, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, भुवन कार्की, कृष्ण कार्की, दीपेश श्रेष्ठ, हरिकृष्ण शाह, अविनाश बोहरा, विकास आग्री र हिमांशु दत्त रहेका छन्। जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र मिलिन्दाले २७ खेल खेलेका छन्। ओमानका बिलाल खानले हालै नेपालमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग–२ मा पनि खेलेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App